
काठमाडौं । प्रधानमन्त्री केपी ओली थाइल्याण्डको औपचारिक भ्रमणमा छन् । थाइल्याण्ड भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाई समकक्षी पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तादेखि विभिन्न समझदारी गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग समेत भेट हुने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको थाइल्याण्ड भ्रमणको क्रममा नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए भने सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने विश्वास व्यक्त गरेकी छन् ।
यता प्रधानमन्त्री ओलीले नेपालमा थाइल्याण्डका लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् ।
के–के भए सम्झौता ?
प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणको क्रममा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्यसमा सम्झौता यस्ता छन् ।
१. परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफा किज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।
२. परराष्ट्रमन्त्री डा. देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियन थोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।
३. नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।
४. जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर ।
५. नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर ।
६. काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर ।
७. नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर ।
८. नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर ।
प्रधानमन्त्री ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका साथै उनले विमस्टेक सम्मेलनमा समेत सम्बोधन गर्ने बताइएको छ ।
यस्तोमा प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास समेत गरिएको छ ।
ओली मोदी भेटको चर्चा
थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्ने भएका छन् ।
नेपाली पक्षको लामो रस्साकस्सीपछि मोदीले भेटको समय व्यवस्थापन गरेको बुझिएको छ । शुक्रबार ओली–मोदी भेट तय भएको परराष्ट्रको जिकिर छ । यद्यपी, मोदीले सकेसम्म नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट्नलाई आनाकानी गरिरहेको भने लुकेको छैन् । यस्तोमा नेपालमा यो विषयमा ठूलो चर्चा चल्न थालेपछि भारतीय पक्षले नराम्रो सन्देश जान सक्ने भन्दै भेटको समय मिलाएको बताइन्छ ।