
काठमाडौं । वि.स २००७ सालमा जन्मिएका बोहरा ४ दशकदेखि नेपाली राजनीतिमा सक्रिय थिए । आफ्नो क्षेत्रमा गरेका विकास कार्यका कारण उनको सधैं प्रशंसा हुने गरेको थियो ।
दीपक बोहरा, नेपाली राजनीतिमा एक चर्चित नाम हो । आफ्नो क्षेत्रमा विकासका परियोजनाहरु शुरु गर्न सधैं सक्रियता देखाउने र कार्यान्वयनमा समेत सफल हुने उनी पछिल्लो ४ दशक यता नेपाल राजनीतिमा सक्रिय रहेका थिए । तर, पोष्ट कोभिडको कारण घाँटीको समस्याबाट लामो समय देखि जुधिरहेका उनले उपचारकै क्रममा मंगलबार मृत्युवरण गरे । बुधबार उनको अन्त्येष्टी गरिएको छ ।
अन्त्येष्टी पहिले बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो । यसक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
बोहरालाई श्रद्धाञ्जली दिन सरकारका मन्त्रीहरुदेखि विभिन्न पार्टीका नेताहरू पुगेका थिए । राप्रपा केन्द्रीय कार्यालयमा राख्नु अघि दीपक बोहराको पार्थिव शरीर उनको गृहनगर भैरहवामा समेत लगिएको थियो । सिद्धार्थनगर नगरपालिका–३ स्थित बोहरा निवासमा राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा नागरिकले श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको पार्थिव शरिर मंगलबार साँझ पुनः काठमाण्डौं ल्याइएको थियो ।
पशुपतिनाथ स्थित आर्यघाटमा उनको अन्त्येठी गरिएको हो । बोहरा पटक–पटकमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनको सहयोगमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै उन रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा जित समेत हासिल गरेका थिए । बोहराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।
दीपक बोहरा र रुपन्देहीको सम्बन्ध
रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउने राजनीतिकर्मीको नाम हो दीपक बोहोरा ।
बुटवल–तानसेन सडक र भालुवाङ–प्यूठान सडकको ट्रयाक खोलेर पञ्चायतकालमा समाज सुधारक बडाहाकिमका रुपमा परिचित प्रतिमान चन्द्र बोहरा र नीमा बोहरोका माइलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहरालाई रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेताका रुपमा लिइन्छ ।
व्यवस्थित वस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत, सिंचाईदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहराले शिशिलाबद्ध काम गरेका छन् ।
भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को सुरुवात गर्दै तराईका अन्नभण्डारमा सिंचाईको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहरालाई लिइन्छ ।
उनले राजनीतिक सक्रियताको अवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरेको भन्दै यस क्षेत्रका जनताहरुले प्रशंसा गर्ने गरेका छन् ।