
काठमाडौं । चैत १५ गते काठमाडौंमा राजावादीको प्रदर्शनका बीच पत्रकार सुरेश रजक आफ्नो क्यामेरामा तस्वीर कैद गरिरहेका थिए । भीडले आक्रोश पोखिरहेका बेला भवनको तल्लो तलाबाट सल्किएको झिल्को एकाएक सुरेश रहेको चौथो तलासम्म फैलियो । सहयोगका लागि बाहिर हल्लाखल्ला समेत भयो । तर, सुरक्षाकर्मीले समयमै अग्रसरता देखाएनन् ।
किन अरु सञ्चारकर्मीहरुको चिच्याहट सुरक्षाकर्मीले सुन्न सकेनन् ? कर्मक्षेत्रमै सुरेश अस्ताएपछि परिवार न्यायको खोजीमा छ । तर, सरकारले दिएको आश्वासनको सान्त्वना मात्र उनीहरूलाई स्वीकार्य छैन । सुरेशले समेट्न खोजेको सत्य नै कतै उनको मृत्युको कारण त बनेन ? रहस्य गहिरिँदैछ । सुरेशका परिवारसहित सिंगो नेपाली पत्रकारिता क्षेत्र निष्पक्ष अनुसन्धानको प्रतिक्षामा छ ।
सुरेशको ज्यान गएको चार दिन बितिसक्दा पनि सोमबारसम्म त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उनको शव पोस्टमार्टम हुन सकेको छैन । परिवारले सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान कसेका छन् । उनीहरूका आँसुमा आक्रोश मिसिएको छ । हत्याको गहिरो छानबिन होस्, दोषीलाई कडा कारबाही होस् र आफ्नो जिम्मेवारी निभाउँदै गरेका सुरेशलाई शहीद घोषणा गरियोस्, परिवारको माग यही हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिए पनि परिवार अझै अन्योलमा छ । गृहमन्त्री रमेश लेखकले संसदबाट क्षतिपूर्तिको घोषणा गरिने बताए । तर, शोक प्रस्ताव पारित गरेपछि संसद बैठक स्थगित भयो र हिउँदे अधिवेशन नै मंगलबारबाट अन्त्य भयो । तर, मृतक परिवारको माग केवल क्षतिपूर्तिसम्म सीमित छैन । उनीहरूलाई पैसा होइन न्याय चाहिएको छ । सरकारको आश्वासनको पछि होइन उनीहरू यथार्थपूर्ण न्यायको प्रतिक्षामा छन् ।
तीनकुनेस्थित चौथो तलाको एउटा कोठामा सुरेश आफ्नो क्यामेराबाट प्रदर्शनको दृश्य कैद गर्दै थिए । बाहिरको कोलाहलले शहर थर्किरहेको थियो । प्रदर्शनकारीहरू सडक तताइरहेका थिए । उनी आफ्नो लेन्समार्फत् ती क्षणहरू समेट्न तल्लीन थिए । तर, भाग्यले पहिले नै क्रूर पटकथा लेखिसकेको उनलाई थाहा थिएन ।
त्यही बेला तल्लो तलामा एक झिल्को सल्कियो । कोलाहलबीच कसैले भवनमा आगो लगायो । तर सुरेशलाई यसको आभास भएन । उनी अझै पनि दृश्यहरू कैद गरिरहेका थिए । बाहिर जम्मा भएका पत्रकारहरूले चिच्याइरहे ‘भित्र पत्रकार छन् उनलाई बचाउनु पर्छ !’ तर, समयमै सुरक्षाकर्मीहरूले सहयोग नगर्दा सुरेश त्यो आगोको लप्कामा बिलाए । अझ एकजना सुरक्षाकर्मी त यति विश्वस्त थिएकी, माथि मान्छे कोही पनि छैन भन्दै थिए ।
तल सञ्चारकमीहरु चिच्याइरहँदा प्रहरीले समयमै कदम चालेको भए सुरेश आफूहरूसँगै कर्मथलोमा हुन्थे भन्ने उनीहरूलाई लागिरहन्छ । सामाजिक सञ्जालमा आएका भिडियोहरूले शंका बढाइरहेका छन् । के यो दुर्घटना मात्रै थियो ? कि योजनाबद्ध हत्या ? यता, त्यो घटनाको जिम्मा न सरकार पक्षले लिएको छ न त आन्दोलित पक्षले ।
काममा मरिमेट्ने, जोखिम मोलेर पनि सत्य उजागर गर्ने पत्रकार सुरेश रजक आगलागीमा जलेर नै मृत्यु भयो त ? यो प्रश्न अहिले रहस्यमय बनेको छ । प्रत्यक्षदर्शीहरू भन्छन्– संयोग मात्रै थिएन ! आगलागी हुनु अघि नै कतिपय घटना शंकास्पद थिए । मुख छोपेर हतार–हतार मानिसहरू भवनभित्र ओहोरदोहोर गरिरहेका थिए ।
बाहिरबाट ताला लगाइएको थियो । छतमा पहिले नै मान्छेहरू थिए । र, अचानक तीन तलामाथि आगो दन्कियो । सुरेश रजक अन्तिम पटक आफ्नो क्यामेराबाट केही महत्वपूर्ण दृश्य कैद गरिरहेका देखिएका थिए । उनले एक्सक्लुसिभ भिडियो पठाउँछु भनेका थिए । आफु कार्यरत टेलिभिजनको मास्टर कन्ट्रोल रुमसँग नियमित सम्पर्कमा थिए ।
दृश्य पठाउँदै पनि थिए । उनी कार्यरत टेलिभिजनका अनुसार सुरेशले बोकेको क्यामेरा गायब छ । अर्को भिडियोमा उनी दुईवटा मोबाइल प्रयोग गरिरहेको देखिन्छन् । तर एक मोबाइल बेपत्ता छ । के आगलागीमात्रै संयोग थियो कि योजनाबद्ध हत्या ? घटनाले रहस्यको गाठो झन् कस्दै लगेको छ ।
यता, उनको शरिरमा गोली रहेको हल्ला चलेपछि पोष्टमार्टमका लागि चिकित्सक पनि हच्किएका छन् । उनीहरुले एक्सरेपछि सुरेशको पोष्टमार्टम गर्ने अडान लिएका छन् ।
शंका गर्ने ठाउँहरू
– तलबाट लागेको आगो अचानक माथिल्लो तलामा पुग्नु संयोग मात्र हो कि नियोजित ? यो एक गम्भीर प्रश्न हो ।
– सुरक्षा विश्लेषकहरू भन्छन्, उनी बेहोस हुन सक्छन् । तर, पत्रकार सुरेश रजकलाई अश्रु ग्यास झेल्ने अनुभव थियो । उनले गन्ध इग्नोर गर्न जान्दथे ।
– आगो लाग्दा सामान्यतया कोही पनि भाग्ने प्रयास गर्छ । तर, न उनी भागे, न सहयोग मागे, न त कसैले उनको चिच्याहट सुने । किन ?
– आगो लाग्नु केही समयअघि झ्यालमा देखिएका उनी एकाएक गायब भए । आगलागीको बेलामा उनको कुनै गतिविधि देखिएन ।
– भिडिओमा उनी निर्धक्क देखिन्छन् । जहाँबाट छिरेको त्यहीँबाट निस्कन सक्छु भन्ने विश्वास थियो । तर, किन बाहिरिन सकेनन् ?
– कसैले आगो निभाउने भन्दै केही हालेको देखिन्छ । तर, त्यो पानी थियो वा आगो फैलाउने कुनै पदार्थ ?
– भवनका लुटपाट गरिरहेकाहरुले भिडिओ मेटाउन दबाब दिएको प्रत्यक्षदर्शीले बताए । के यो दुर्घटना थियो कि सबुत नष्ट गर्ने योजना ?
– केही मानिसहरु बारम्बार तलमाथि गरिरहेका थिए । के उनी नियोजित रूपमा उनीहरूको जालमा परेका थिए ?
– अन्य मान्छे माथि गएका थिए तर आगो लागेपछि कसैले उनलाई देखेनन् । अन्तिम अवस्थामा भित्तामा अडेस लागेर शव भेटिनु के कसैले उनीमाथि प्रहार गरेको थियो ?
यी सबै प्रश्न र आशंकाहरूको अनुसन्धान हुन आवश्यक छ ।
सुरेशको शव भेटिएको कोठामा दृश्य अनौठो थियो । आगो लागेपछि मानिस छटपटाउँछ, भाग्ने प्रयास गर्छ, चिच्याएर सहयोग माग्छ । तर, त्याहँ कुनै संघर्षको निशान थिएन ।
न त कोठामा कुनै भागदौडको संकेत । के यो कुनै रहस्यमय घटना थियो ? कि सुरेशलाई लाई अचेत बनाएर आगो लगाइएको थियो ? अब यी तमाम प्रश्नहरुको जवाफ अब न्यायोचित छानविनपछि मात्रै आउन सक्छ । अन्यथा यो विषय सधै रहस्य र विवादको एउटा कडीका रुपमा रहिरहनेछ ।