
काठमाडौँ । हिउँदभर दैनिक १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि भनेर गत कात्तिक २३ देखि पाँच महिनासम्मका लागि विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदै आएको थियो ।
स्तरोन्नतिका लागि यसअघि निर्धारित समयावधि आजदेखि सकिएसँगै अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म दैनिक १८ घण्टा सञ्चालनमा रहने छ । यद्यपि सबै काम सम्पन्न भने भइसकेकाे छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको थियो । सो अवधिमा बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र उडान अवतरण र राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द गरिँदै आएको थियो ।
प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम गरेको थियो । उक्त काम लगभग सम्पन्न भएसँगै अब राति १२ देखि बिहान ६ बजेसम्म करिब ६ घण्टा मात्रै विमानस्थल बन्द रहने र १८ घण्टा खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार विमानस्थलको ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क–वेको निर्माण सम्पन्न भइसकेको छ । तर समानान्तर ट्याक्सी वे निर्माणको काम भने केही जारी रहेको छ । हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको छ भने रातिको समयमा मात्रै काम गर्नुपर्ने भएकाले सम्पूर्ण काम सम्पन्न गर्न अझै एक–डेढ वर्ष लाग्ने जनाइएको छ ।