News 24 Television
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली प्रधानमन्त्रीको रुपमा इतिहासमै पहिलोपटक हुन लागेको यो भ्रमणलाई चासको साथ हेरिएको छ ।

थाइल्याण्डको औपचारिक राजकीय भ्रमणका साथै बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डलसहित ओली मंगलबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा ओली बैंककका लाथि प्रस्थान गरेका हुन् ।

पाँचदिने भ्रमणका क्रममा दुई देशबीच पर्यटन र संस्कृतिका सन्दर्भमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइको छ । द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै ओलीले संयुक्त प्रेस मिटमा भाग लिनेछन् । साथै थाइल्यान्डका राजा (नरेश)सँग समेत ओलीले भेट गर्नेछन् ।

प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ । सो क्रममा उनले अन्य छिमेकी र मित्र राष्ट्रका नेता तथा प्रतिष्ठित व्यावासायीहरुसँग पनि साइडलाइन भेटवार्ता र छलफल गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत रहेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु र विभिन्न उद्योगीहरु व्यवसायी समेत भ्रमणमा सामेल छन् । 

करिब ५ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update