
काठमाडौँ । शक्तिशाली भूकम्पको मारमा परेको म्यानमारलाई नेपाल सरकारले राहत सामग्री पठाउने भएको छ । म्यानमारका भूकम्पपीडित जनताका लागि अत्यावश्यक राहत सामग्री तथा केही मेडिकल सामग्री पठाउने मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले निर्णय गरेको थियो ।
यही चैत १५ गते बिहान म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । विनाशकारी उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएकोप्रति दुःख व्यक्त गर्दै नेपालले सक्दो मानवीय सहायता पठाउन लागेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार नेपाल वायुसेवा निगमको हवाई जहाजमार्फत राहत सामग्री, औषधी र मेडिकल उपकरण पठाउने निर्णय भएको छ । उक्त सामग्री ढुवानीको खर्च अर्थ मन्त्रालयबाट निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । राहत तथा मेडिकल सामग्री भने सरकारको विभिन्न निकायमा रहेको मौज्दात र अन्य निजी क्षेत्रबाट प्राप्त सामग्री लोड गरिनेछ ।
साथै नेपाली सेनाको जहाजमार्फत सेनाकै चिकित्सकीय टोलीलाई समेत म्यानमार पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।