
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) थाइल्याण्ड भ्रमणमा जाँदैछन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि दिउँसो करिब १ बजे थाइल्याण्ड प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीले त्यहाँको औपचारिक राजकीय भ्रमण समेत गर्नेछन् ।
थाइल्यान्डका प्रधानमन्त्री पैटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली र उनी नेतृत्वको भ्रमण टोली त्यसतर्फ जान लागेको हो । नेपालबाट याे नै प्रधानीमन्त्रीस्तरको इतिहासमै पहिलो थाइल्यान्ड भ्रमण हुनेछ । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म नेपालबाट प्रधानीमन्त्रीको भ्रमण हुन सकेकाे थिएन । यसपटक प्रधानमन्त्रीको रूपमा पहिलोपटक थाइल्याण्ड भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्सबाट बैङ्ककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा सोमबार सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराएका थिए । उनले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा आफ्नो पहिलो भ्रमण महत्वपूर्ण भएको बताएका थिए ।
ओलीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत हुने जनाइएको छ । साथै, थाइल्याण्डका राजा (नरेश)सँग भेटवार्ता समेत हुनेछ । प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ । सो क्रममा उनले अन्य छिमेकी र मित्र राष्ट्रका नेता तथा प्रतिष्ठित व्यावासायीहरुसँग पनि साइडलाइन भेटवार्ता र छलफल गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत २१ जना रहका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु र विभिन्न उद्योगीहरु व्यवसायी समेत भ्रमणमा सामेल छन् ।
करिब ५ दिने भ्रमण सकेत प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यतालिका छन् ।