News 24 Television
ज्ञानेन्द्रको श्रीपेच मोहः दलहरुको यस्तो हस्तक्षेप 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको श्रीपेच मोहले तरङ्ग पैदा गरिदिएको छ । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा चैत १५ गते काठमाडौंमा हिंसात्मक प्रदर्शन भएको भन्दै गणतन्त्रवादी दलहरुले चर्को विरोध र आलोचना गरिरहेका छन् । 

यस्तो स्थितिमा सरकार र दलहरुले के गर्लान् ? यता, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रदर्शनमा मच्चिएको हिंसाको जिम्मेवारी लिने काम गर्लान् ? 

चैत्र १५ गतेको तीनकुने घटनामा दुई जनाको ज्यान गयो, निजी सम्पत्तिमा आगजनी, तोडफोड भयो, कयौं सवारी साधन जलाइयो । सरकारी कार्यालयदेखि विभिन्न पार्टी कार्यालयमा समेत यहि नियति देखाउन खोजियो ।

यस्तो स्थितिपश्चात सरकारले कारबाही र धरपकड तीव्र पारेको छ । तर, यो सबै सरकारकै कारण भएको राजावादी शक्ति र समूहले आरोप लगाइरहेका छन् । 

पूर्वराजाबाटै छायाँमा परेका राजेन्द्र लिंंङ्देन गणतन्त्रको चास्नीमा डुबेपछि उनलाई ज्ञानेन्द्र शाहले जिम्मेवारी दिन आवश्यक ठानेनन् । 

त्यसपछि नवराज सुवेदीदेखि दुर्गा प्रसाई राजा ल्याउने आन्दोलनको प्रमुख पात्र बन्न पुगे । तर, राजतन्त्रको नारा बेचेर वामपन्थी रुझानसँग साटेको मतबाट निर्वाचन जितेपछि स्वभाविक रुपमा राजतन्त्रको वकालत त गर्नैप¥यो । लिङ्देनले यस्तै गरिरहेका छन् । जुन विषय अहिले चर्को बहसमा तानिएको छ ।

राप्रपाले संसदमा समेत राजावादी यहाँ छ, सक्छौ जेल हाल भन्दै छाति पिटिरहेको छ । लिङ्देन यहि मेसोमा कस्सिएका छन् ।

लिङ्देनले यस्तो जिकिर गरेपनि कांग्रेस एमालेदेखि माओवादी केन्द्रसहितका ददलहरुले राजतन्त्रको कुनै सम्भावना नरहेको भनिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको चरित्र, क्षमता र उनको हैसियतमाथि टिप्पणी गरिरहेका छन् । 

प्रतिनिधिसभा सदस्यहरुले यस्तो धारणा राखिरहदा यता, कांग्रेसले त तीनकुने घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने भनिसकेको छ । 

यता, राजतन्त्र वा गणतन्त्र भन्ने भेद नखुलाएको आरोप खेपिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीनकुने घटनामा आपत्ति जनाएको छ । 

नेताहरुले विभिन्न अभिव्यक्ति दिएपनि राजतन्त्रको विषयमा चलिरहेका मुद्दा र बहसको टुंगो भने तत्काल लाग्ने देखिन्न ।

के गर्लान् पूर्वराजा ज्ञानेन्द्र ?

पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण तीनकुने घटना घटेको निष्कर्ष सरकारले निकालेको छ । सरकारले यस्तो आरोप लगाएपनि नागरिक तहमा कस्तो स्थिति छ ? 

पुर्वराजाको पक्षमा जनताले सडक वा मतबाट कस्तो सन्देश दिन्छन् भन्ने विषय नै प्रमुख विषय हो । तर, तत्काललाई पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते गरेको सम्बोधनलाई नै कारण मान्दै यो विषयलाई स्थापित गर्न खोजेको देखिन्छ ।

किन तानिन सक्छन् पूर्वराजा ज्ञानेन्द्र ?

पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनपछि अब बाटो खुला भयो भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले नै सार्वजनिक अभिव्यक्ति दिएको थियो । 

लिङ्देनजस्तै अन्य राजावादी शक्तिहरुले पनि ज्ञानेन्द्रको त्यो वक्तव्यलाई आधार मानेको स्वीकार गरिसकेका छन् । यसको सीधा अर्थ हो, ज्ञानेन्द्रकै अपिलपछि नै उनीहरुले सडकमा आउने बल प्राप्त गरे । अझं नवराज सुवेदी त निर्मल निवासबाटै संयोजक बनाइएका पात्र हुन् ।
निर्मल निवासको आधिकारितापछि तनावमा रहेको राप्रपा चैत्र १५ को घटनापछि बौरिन पाएपनि अहिले राजतन्त्रको पक्षमा चलिरहेका सबै घटना र आन्दोलन निर्मल निवासकै चाहनामा भएको तथ्य यी विषयले पनि पुष्टी गर्ने देखिन्छ । 

निर्मल निवासको यही अग्रसरतामै टेकेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको वितण्डाको जिम्मेवार बनाउने गरि सरकारले अनेक उपाय अवलम्बनको प्रयास गरिरहेको देखिन्छ ।

ज्ञानेन्द्र शाहको सत्ता पलटका आधार के ?

पूर्वराजा ज्ञानेन्द्र शाहले राजदण्ड र श्रीपेचका लागि पर्याप्त संघर्ष गर्नुपर्ने स्थिति देखिन्छ । यसका लागि ब्यालेट वा बुलेट ? त्यो राजावादी पक्षधरले रोज्नुपर्ने मुख्य विषय बनेको छ । मतपत्रबाट राजसंस्थाको स्थापना लोकतान्त्रिक विधि भएपनि त्यो जनमत सिर्जना हुने आधारहरु तयार भएको देखिन्न । यस्तो स्थितिमा हुने भनेको सडक संघर्ष र बुलेटबाटै हो । 

यी दुई विषयमा सहज ब्यालेट भएपनि बुलेटको बाटो नै सरकारले देखाइदिएको छ । सरकारले गणतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्छु भनेपछि अब राजावादी शक्तिकासामू संघर्ष, क्रान्ति र सडकबाटै सत्ता पलटको उपायबाहेक देखिन्न । के अहिले यसका लागि जनमत तयार छ ? त्यो तीनकुनेको घटनाले पनि अनेक आंशकामा परिणत गरिदिएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहले नै तीनकुने घटनाले आफ्नो छवीमा असर पु¥याएको गुनासो गर्न थालेको दाबी गर्न थालिएको छ । यस्तो स्थितिमा ज्ञानेन्द्रको पुनरागमन सहज देखिन्न तर, तनाव सिर्जना गर्न भने सक्षम बन्ने स्थिति पक्कै छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update