News 24 Television
राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा 

मुगु । मुगुको रारा ताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाईमा पर्ने पर्यटकीय स्थल हो । मुगुमा राराबाहेक अन्य धेरै धार्मिक तथा प्राकृतिक सम्पदाहरु छन् । तर रारा तालको ख्यातीका कारण यस जिल्लामा रहेका अन्य पर्यटकीय क्षेत्रहरु भने ओझेलमा पर्दै आएका छन् । 

रारा ताल रहेकै गाउँपालिका मुगम कामारोङमा महत्वपूर्ण शक्तिपीठ, झरना, गुम्बा, हिमाल र तालतलैयाहरु रहेका छन् । तर प्रवद्र्धनको एकीकृत योजना नहुँदा अन्य पर्यटकीय क्षेत्रहरुले पाउनुपर्ने जति महत्व पाउन सकिरहेका छैनन् । 

मुगुमा पर्यटन विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारसहित राज्यका तिनै तहका सरकारबाट बजेट विनियोजन, प्रचारप्रसारका एकीकृत कार्यक्रम नहुँदा सम्भावना बोकेका दर्जनौ पर्यटकीय स्थल ओझेलमा परेका छन् । 

मुगम कामारोङ्ख गाँउपालिका भित्र प्रकृतिले वरदानस्वरुप दिएका ऐतिहासिक , धार्मिक, सास्कृतिक लगायतका कैयौ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबद्र्धन नहुदा मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरना, हिमाल, गुफा,लगायतका पर्यटकीय स्थलहरुमा सोचेजति पर्यटक पुग्नै सकेका छैनन् । 

जिल्लाले पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको सूचि बनाउन सकेको छैन । जिल्लामा रहेका चार वटै स्थानीय पालिकाले आ–आफ्नो क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको सूची बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना बनाउनुपर्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । 

सबैभन्दा बढी बौद्ध धर्मावलम्बीको बसोवास रहेको हुनाले यहाँका गुम्बा, गुफा, मठ, मन्दिर फरक शैलीका घरहरु र पर्यटकलाई गरिने आत्मिय सम्मान र स्थानिय रैथाने अन्नबालीका परिकार यहाँको मुख्य विशेषता हो । 

जडिबुटीको भण्डार मानिने यस क्षेत्रमा प्रचार प्रचारसँगै संरक्षणमा राज्यको नजर जाने हो भने मुगुको मुगम कामारोङ्ख गाँउपालिका बन्यजन्तु र जडिबुटी पर्यटनको निकै ठूलो सम्भावना भएको क्षेत्र रहेको पर्यटकहरु बताउँछन् ।  

सडक, बाटो, सञ्चारको समस्या रहेको यस क्षेत्रमा स्थानीय सरकारबाट केही काम भएपनि लक्ष्य अनुसार काम हुन नसकेको स्थानीय सरकारकै स्वीकारोक्ति छ । प्रदेश र संघीय सरकारसँग बजेटको लागि पहल गरेपनि राज्यका माथिल्लो निकायबाट सहयोग नहुँदा सबै पर्यटकीय क्षेत्र ओझेलमा परेको मुगम कामारोङ्ख गाँउपालिका वडा नम्बर ८ का वडाध्यक्ष पेमा टुन्डुप लामा बताउछन् ।  

यो क्षेत्रको पर्यटन विकासका लागि सडक सञ्जालका साथै प्रचारप्रसारको खाँचो रहेको स्थानीय बताउँछन् । तीनै तहका सरकारले यी कुरामा ध्यान दिने हो भने यो क्षेत्रको पर्यटनले पुरै कर्णाली प्रदेशलाई फाइदा पुग्ने पर्यटन व्यवसायी जिकिर गर्छन् । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update