News 24 Television
हुलाकबाटै पुग्यो पूर्वराजालाई जरिवाना पत्र

काठमाडौं । कुनै पनि राजनीतिक दलले काठमाडौंमा सभा सम्मेलन गरी फोहर गर्ने कुरा सामान्यजस्तै थियो । तर पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भने आन्दोलनका क्रममा फोहोर गरेमा समेत सम्बन्धित दल वा आयोजकलाई जरिवाना तिराउने गरेका छन् । शुक्रबार मात्रै राजावादीहरुले गरेको प्रदर्शनका क्रममा फोहर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै जरिवाना तोकेपछि विभिन्न कोणमा बहस चर्किएको छ । 

काठमाडौं महानगरपालिका भित्र कुनै पनि दल वा संघसंस्थाले फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन्द्र शाहले विभिन्न दल वा संघसंस्थाहरुलाई जरिवाना तिराउँदै आएका छन् । कुनै ठाउँमा फोहर गरेमा न्यूनतम १ लाख रुपैया जरिवाना हुने महानगरको कानूनी ब्यवस्थामा टेकेर मेयर बालेनले जरिवाना तिराउने गरेका छन् । 

यसअघि राजावादी दल राप्रपाले नै काठमाडौंमा गरेको कार्यक्रममा फोहोर गरेको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिराएको थियो । 

आफूहरु कानूनी ब्यवस्थालाई मान्ने भन्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले जरिवाना बुझाएको भौचर सामाजिक सञ्जालमै पोष्ट गरेका थिए । 

तर राप्रपा भन्दा अघि दरबारमार्गमा गरेको कार्यक्रममा फोहोर गरेको भन्दै महानगरले जरिवाना गर्न खोज्दा सत्तारुढ नेकपा एमालेले पत्र नै बुझ्न मानेको थिएन । एमालेले पत्र नै बुझ्न नमानेपछि हुलाकाबाटै पत्र पठाइएको थियो । 

गत शुक्रबार राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा ठूलो धनजनको क्षति भयो । तीनकुनेदेखि विभिन्न ठाउँमा तोडफोड र आगजनी भएपछि काठमाडौंका सडकहरु प्रदुषित भएका थिए । 

मेयर बालेनले प्रदर्शनको मुख्य योजनाकार नै पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै ७ लाख ९३ हजार जरिवाना तोकेका छन् । महानगरपालिकाको स्थानीय शासन ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ । 

सोही ब्यवस्था अनुसार नै पूर्वराजाको नाममा जरिवाना तोकिएको हो । तर महानगरको पत्र भने ज्ञानेन्द्र शाहले बुझ्न मानेनन् । पत्र नबुझेर महानगर कर्मचारी फिर्ता गरिएपछि आइतबार नै हुलाक मार्फत पत्र पठाइएको छ । 

आयोजक प्रसाईँ, जरिवाना ज्ञानेन्द्रलाई 

शुक्रबारको उक्त प्रदर्शनका लागि राष्ट्र, राष्ट्रियता र नागरिक बचाउन अभियानका तर्फबाट विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले जिल्ला प्रशासनबाट अनुमति लिएका थिए । तर प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईँ फरार भए भने राजावादी अन्य घटकका नेता कार्यकर्ता पक्राउ परेका छन् । आयोजकलाई जरिवाना नगरी पूर्वराजालाई जरिवाना गरेको भन्दै राजावादीहरुले बालेनको आलोचना गरिरहेका छन् ।

बालेनलाई निकै हाइहाई गर्ने समूहहरु पनि यो विषयलाई लिएर सामाजिक सञ्जालहरुमा आलोचना गरिरहेका छन् । तर बालेनको निकै आलोचना गर्ने एमालेका नेता कार्यकर्ताहरु भने यतिबेला बालेनको प्रशंसामा छन् । प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले यसलाई गणतन्त्रको सौन्दर्य भनेका छन् । 

गत फागुन ७ गते पूर्वराजा शाहले आफूलाई सहयोग गर्न भन्दै अपिल गरेकै कारण राजावादीहरु यतिबेला राजालाई गद्धिसिन गराउने भन्दै आन्दोलन चर्काउन खोजिरहेका छन् । त्यसैले ज्ञानेन्द्र शाहले नै आह्वान गरेकाले उनैलाई जरिवाना तिराउनुपर्ने महानगरको निर्णय जायज रहेको कतिपयको तर्क छ । 

आर्थिक संकलन अभियान 

पूर्वराजा शाहलाई जरिवाना गरिएको भन्दै राजावादीहरुले बालेनको आलोचना मात्र गरेका छैनन् । बालेनले तोकेको जरिवाना तिर्न भन्दै आर्थिक संकलन अभियान नै सञ्चालन गरेका छन् । सामाजिक सञ्जालमा राजसंस्था पुनस्र्थापना जनआन्दोलन समितिका सदस्य अंकत देवकोटाको क्यूआर शेयर गरी उनीहरुले आर्थिक संकलन अभियान चलाइरहेका छन् ।

शनिबारदेखि नै शुरु गरेको यो अभियानबाट उनीहरुले महानगरले तोकेको जरिवाना बराबरको रकम उठाइसकेको बताएका छन् । पूर्वराजा शाहले नै महानगरको पत्र नबुझेको अवस्थामा उनीहरुले संकलन गरेको रकमबाट महानगरलाई के कसरी जरिवाना तिर्नेछन्, भन्ने रोचक विषय बनेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update