News 24 Television
छोटो दूरीको पदयात्राका लागि अष्ट्रेलियन क्याम्प 

कास्की । छोटो दूरीको पदयात्राका लागि उत्कृष्ट गन्तव्यको रूपमा कास्कीको अष्ट्रेलियन क्याम्प पर्यटकको रोजाईमा परेको छ । यहाँको रमणिय वातावरण र निकै मनोरम हिमश्रृंखलाको दृष्य देख्न पाईने भएकाले आन्तरिक होस् वा बिदेशी पर्यटक, कम्तिमा एक दिन भएपनि यहाँ बस्ने गरेका छन् । 

कास्कीको अष्ट्रेलियन क्याम्प छोटो दूरीको पदयात्राका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ । कास्की जिल्लाको अन्नपूर्ण ६ लुम्लेमा पर्ने यो क्याम्प २ हजार ६० मिटरको उचाइमा रहेको छ । 

अस्ट्रेलियन क्याम्प पोखरा उपत्यकाको उत्तरपश्चिमी भागमा अवस्थित छ । पोखराबाट २६ किलोमिटरको दूरीमा अवस्थित यो क्याम्प पुग्न करिब २ घण्टा लाग्छ । अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटैमा रहेको यो क्याम्प पोखराबाट एक दिनको पदयात्रामा पूरा गर्न सकिन्छ । छोटो दुरीमा रहेको र यहाँबाट निकै मनोरम हिमश्रृंखलाको दृष्य देख्न पाईने भएकाले आन्तरिक होस् वा बिदेशी पर्यटक, कम्तिमा एक दिन भएपनि यहाँ बस्ने गरेका छन् । 

यहाँको वातावरण रोमाञ्चक त छदैछ, त्यसमाथी आफ्नै अगाडी हरियो बनजंगल र टलक्क टल्किएको हिमालले गर्दा पर्यटकको मन जितेको छ । यहाँको आतिथ्यता, खाना र रमणिय वातावरणले गर्दा पटक–पटक आउने गरेको पर्यटकहरु बताउँछन् ।

पोखरा नजिकै रहेको यस अस्ट्रेलियन क्याम्पको दाहिनेतर्फ ६ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण हिमाल र हिउँचुली हिमाल देख्न सकिन्छ भने बाँयापट्टी माछापुच्छ«े हिमाल देख्न सकिन्छ । 

क्याम्पबाट कुल १४ वटा हिमाल देख्न सकिने यहाँका व्यवसायीले बताउँदै आएका छन् । यस पदयात्रामा बाह्य भन्दा आन्तरिक पर्यटकहरू धेरै आउने गरेका छन् । त्यसमा पनि असोज, कात्तिक, मंसिर, चैत, बैशाख र जेठमा धेरै पर्यटकहरू आउने गर्छन् । तर पछिल्लो २ वर्षदेखि यहाँ पर्यटकको चहलपहल निकै राम्रो भएको र सिजनको बेलामा निकै भिड हुने गरेको यहाँका व्यवसायीको भनाई छ ।

प्रकृतिलाई नजिकबाट नियाल्दै त्यहाँको स्वच्छता महसुस गर्न पाइने यस क्याम्पमा नेपाली पर्यटकसँगै उल्लेख्य संख्यामा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् । तर छोटो दुरीमा रहेको र मार्दी तथा अन्नपूर्ण आधार सिविर जाने बाटोमा पर्ने भएकाले पर्यटकलाई घुम्न आउने मात्र नभई उनीहरुको बसाई लम्बाउने योजना तर्फ अगाडी बढ्नुपर्ने आवश्यकता छ । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update