News 24 Television
ज्ञानेन्द्रको सवालमा एकाकार राजावादी, प्रदर्शन विफल हुँदापनि मनोवल उचो !

काठमाडौं । चैत १५ गतेको प्रदर्शन अराजक र उत्तेजित बन्दा राजावादी आन्दोलनको भविष्य कमजोर हुने आंकलन गरिँदै आएको छ । प्रदर्शनले भौतिक संरचनामा मात्रै क्षति भएको छैन । 

मानवीय क्षतिसमेत भएको छ । तर यो घटनाको जिम्मेवारी राजावादी पक्षधर र सरकारले समेत लिन चाहिरहेका छैनन् । उक्त घटनामा भएको मानवीय र भौतिक क्षतिको जिम्मा राजावादी पक्षले सरकारले लिनुपर्ने भन्दै आएको छ भने अर्कोतर्फ सरकारले सबै घटनाको जिम्मेवार प्रदर्शन गर्ने राजावादी पक्षले नै हो भन्ने अडान लिँदै आएको छ । यद्यपि राप्रपाले पार्टीको बैठक नै बसेर उक्त सबै घटनाको जिम्मेवार सरकार नै भएको निश्कर्ष निकालेको छ । 

यस्तैमा उता सरकार र अन्य दलहरु भने राप्रपाकै उदण्डका कारण चैत १५ गते दुखद घटना भएको जिकिर गरिरहेका छन् । 

सरकारले प्रदर्शनलाई हिंसात्मक बनाएको भन्दै राप्रपाका सांसद धवलशम्शेर राणा, नेता रवीन्द्र मिश्र लगायतलाई पक्राउ गरेको छ । यद्यपि राप्रपाले भने उक्त घटनाको जिम्मा नलिने अडान दोहोर्याउन छोडेको छैन । 

फेरि राजावादी एक हुँदै !

राजावादीको तीनकुने प्रदर्शन हिंसा र विध्वंसले भरिपूर्ण बन्यो । यसपछि राजावादीको मनोवल गिरेको टिप्पणी हुने गरेका छन् । यही घटनापछि पूर्वराजालाई नै पक्राउ गर्ने चर्चासमेत भइरहेको छ । तर राजावादीहरु भने यी घटनाबाट विचालित भाव नराखी पुनः एकजुट हुने मोडमा पुगेका देखिन्छन् । सांसद धवल शम्शेर राणा पक्राउ परेको विषयमा राप्रपाले २४ घण्टे अल्टिमेटम नै दिएको छ । त्यस्तै राप्रपाले पूर्वराजालाई पक्राउ गरेर देखाउनसमेत सरकारलाई चुनौती दिएको छ ।  

यसरी राप्रपाले आफ्ना नेता पक्राउको विरोध र पूर्वराजाको रक्षा गरिरहँदा अर्को राजावादी दल राप्रपा नेपाल पनि पूर्वराजाको बचाउमा उत्रिएको छ । 

राजावादी आन्दोलनमा प्रत्यक्ष संलग्न नभएको कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्वराजामाथिको प्रहारलाई काउण्ट दिइरहेको हो । काठमाडौं महानगरले प्रदर्शनका नाममा विध्वंश मच्चाएको तथा फोहार गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रका नाममा तोकेको जरीवानाप्रति आपत्ति जनाउँदै अध्यक्ष कमल थापाले उक्त कदमको विरोध गरेका छन् । 

महानगरले ज्ञानेन्द्रको नाममा झण्डै आठ लाखको जरिवाना रसिद काटेका छन् । यसप्रति असन्तुष्टि पोखेका कमल थापाले सामाजिक संजालमा स्टाटस लेख्दै गलत ठेगानामा पत्र पठाएर मेयर बालेन शाहले ‘स्टण्ट’ गरेको टिप्पणी गरेका छन् ।

यसरी पूर्वराजा र राजावादी गतिविधिमाथि भइरहेका प्रहारहरुलाई राजसंस्था पक्षधरहरु कुनै न कुनै ढंगबाट एकजुट भएर जवाफ फर्काइरहेका छन् । तीनकुने प्रदर्शनका लागि पूर्वराजाले नवराज सुवेदीलाई संयोजक र दुर्गा प्रसाईँलाई कमाण्डर तोकेका थिए । 

यसपछि मुल राजावादी दलहरु भने आफूहरुलाई बाइपास गरिएको भन्दै विच्किएको टिप्पणी गरिएको थियो । तर प्रसाईँ नेतृत्वको प्रदर्शसन सफल हुन सकेन । यद्यपि यसपछि सृजित परिस्थिति र ज्ञानेन्द्रकोे रक्षका लागि भने राजावादीहरु एकजुट भइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update