News 24 Television
पूर्वराजाको रुपरंगले सन्नाटा ! नेताहरुको योजना यस्तो !

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा चैत्र १५ गतेको प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दलहरुले अनेक टिप्पणी गरिरहेका छन् । 

गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भनिरहेका उनीहरुले चैत्र १५ गतेको घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहको मनस्थितिदेखि राजतन्त्रमा के हुनसक्छ भन्नेसम्मका टिप्पणी गरिरहेका छन् । कस्ता–कस्ता छन् त नेताहरुका आकलन ? 

राजावादी प्रदर्शनपछि राजनीतिक दलहरुले भने थप सुरक्षित महशुस गरिरहेका छन् । प्रदर्शनकारीहरुले हिंसात्मक र अत्यन्तै निन्दनीय घटना घटाएपछि राजावादी प्रदर्शन आलोचनाको शिखरमा छ । राजावादीको प्रदर्शनमा व्यक्तिको सम्पत्तिमाथि क्षति पु¥याउनेदेखि लुटपाटका घटना हुनुले पनि आम रुपमा मानिसहरु क्रुद्ध देखिन्छन् । 

अझं, दुर्गा प्रसाईले समाजवादी मोर्चाले कार्यक्रम आयोजना गरेकै दिन म पनि प्रदर्शन गर्छु भन्दै योजना बनाए र कार्यक्रम जुधाएर आफ्नो शक्ति देखाउन खोजे । त्यतिमात्रै होइन प्रदर्शनलाई उग्र बनाउन उनी आफैले भड्काउने काम गरे । 

दुर्गा प्रसाई र प्रदर्शनकारीले हिंसा मच्चाएपछि गणतन्त्रको पक्षमा जनमत सोझिन पुगेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहमाथि सहानुभूति राख्नेहरुले पनि अहिले राजावादी भन्नेहरुप्रति अनेक प्रश्न गरिरहेका छन् । यो परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले त ज्ञानेन्द्र शाह राजाको रुपमा आउन लायक नभएको भन्दै राजा नबन्दै त यस्तो छ राजा बने के–के गर्लान भनि हिंसात्मक प्रवृति समयमै जनताले चिन्नु पर्ने बताएका छन् ।

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि चैत्र १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको जवाफ माग गरेका छन् । सिटौलाले भनेका छन्, चैत्र १५ गतेको हिंसामा पूर्वराजाको संलग्नता हो वा होइन ? जवाफ दिनपर्छ । 

कांग्रेसमा जस्तै माओवादी केन्द्रले पनि समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका कारण राजावादीहरु हच्किएको दाबी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका हुन् ।

राजनीतिक दलहरुले राजावादीको प्रदर्शनमाथि अनेक टिप्पणी गरिरहेको बेला सरकारले भने कारबाहीको दायरामा ल्याउने भन्दै पक्राउ थालिसकेको छ । प्रहरीले अनुसन्धान गरिरहेको र कानूनको उल्लङ्घन गर्नेमाथि कारबाही हुने सरकारले विश्वास दिलाइरहेको छ । 

गणतन्त्रवादी दल र नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रतिको आक्रोशलाई तीब्र पारिरहेका छन भने गणतन्त्रबाटै जनताका अधिकार स्थापित गर्न सकिनेमा विश्वास दिलाउन खोजेका   छन् । तर, उनीहरुले आफ्नो प्रवृत्ति सच्याउनुपर्नेमा भने जोड दिनुपर्ने भन्न थालिएको छ। यता, राजावादी भन्नेहरुले देखाएको उदण्डता र हिंसाका विषयमा दलहरुले अनेक दाबी गरेपनि राजावादी शक्तिहरुले भने पूर्वराजालाई तीनकुने प्रकरणमा जोड्नु अनावश्यक भएको भनिरहेका छन् । यद्दपी, चैत्र १५ गतेको सबै परिस्थितिले अहिले राजावादी प्रदर्शनले गणतन्त्रवादी दल र शक्तिहरुलाई राजतन्त्रबारे खुलेर विरोध गर्ने विषय भने मिलेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update