
काठमाडौं । गणतन्त्रमाथिका प्रश्नहरुमा राजनीतिक दलहरुले अपेक्षाकृत सुधारको काम गर्लान ? यो आम प्रश्न हो । राजनीतिक तानातानदेखि दाउपेचका कारण गणतन्त्रमाथिका प्रश्न जब्बर बनिरहेका छन् । प्रणालीविरुद्धमै जनता ओर्लिने स्थिति निर्माण भइनसकेपनि राजनीतिक प्रवृत्तिमाथि भने आक्रोशित नै देखिन्छ । यस्तोमा माओवादी केन्द्र भने आत्मालोचनासहित काम गर्नुपर्ने भन्न थालेको छ ।
गणतन्त्र स्थापनापछि आम रुपमा मानिसहरु सन्तोषको सास फेर्न पाइरहेका छैनन् । प्रणाली फेरिएपनि जनताको अवस्थामा ठूलो परिवर्तन आउन सकेन् । अपेक्षाकृत परिवर्तन नहुँदा मानिसमा आक्रोश सामान्य देखिन्छ ।
अझं सत्ता बाँडिचुडी गर्ने राजनीतिक परम्परा र आफ्नालाई पोस्ने प्रवृत्तिले जनआक्रोश चुलिएकोमा शंका छैन् । यस्तै कारण गणतन्त्रविरोधि शक्तिहरुले आफूलाई बलियो पार्दै लगेका छन् । यो स्वीकारोक्ति माओवादी केन्द्रले गर्न थालेको छ ।
प्रचण्डले मात्रै यस्तो विषय भनिरहेका छैनन्, माओवादीको नेतृत्व पंक्ति नै अहिलेको परिवर्तनले जनतालाई समृद्ध बनाउन नसक्दा समस्या सिर्जना भएको भन्न थालेको छ। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि सबै दलहरुले आफूलाई सच्याएर अघि बढाउनुपर्ने भनिरहेका छन् ।
माओवादी केन्द्रका नेताहरुले यस्तो दाबी गर्दै गर्दा राजावादी शक्तिको सक्रियतामा गणतन्त्रवादी दलहरुले पनि एकता र आपसी सहकार्यको बाटो खोज्न भने थालेका छन् ।
नेकपा माओवादीप्रति प्राय आक्रामक देखिने एमाले पनि लचक बनिरहेको देखिन्छ । यसको संकेत गरेका छन्, एमाले महासचिव शंकर पोखरेलले ।
पोखरेलले समाजवादी मोर्चाको विरोधसभालाई सफलताको शुभकामना दिनेदेखि गणतन्त्रको पक्षमा ठूलो जनसमर्थन मोर्चाको प्रदर्शनमा सहभागी भएको भनेका छन् । पोखरेलले यसको प्रचार गर्नुको कारण अहिलेको तरल राजनीतिक स्थिति नै देखिन्छ । यता, आफ्नो अडानबाट टसमस हुन नचाहने प्रधानमन्त्री केपी ओली पनि लचक बनेका छन् । संसदको अवरोध खुलाउन होस वा दलीय विवादलाई साम्य पार्ने प्रयासस्वरुप होस, कुलमान घिसिङ प्रकरणमा जवाफ दिन ओली तयार भएका छन् ।
यसरी गणतन्त्रवादी दलहरु अहिले एकता र सहकार्यको बाटो खोज्ने बाटोमा आइपुगेका छन् । उनीहरुले गणतन्त्रको सुदृढीकरणमा जोड दिन थालेका छन् भने राजावादी प्रदर्शनलाई हिंसाको अर्को रुपमा ब्याख्या गरिरहेका छन् । तर, के राजनीतिक दलहरुले प्रतिबद्धताअनुसार आफुलाई परिमार्जन गर्ने र अभिव्यक्ति दिएजसरी सुधारका काममा अघि बढ्लान ? शंका भने उस्तै देखिन्छ ।