News 24 Television
पूर्वराजा घर भएरै बेघर ! आज्र्याको इज्जत धुलोमै मिसियो ! 

काठमाडौं । राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई फरार छन् । तीनकुने क्षेत्रमा हिंसा भड्काउने काम गरेर भागेका प्रसाई फरार त रहे, तर, पूर्वराजा ज्ञानेन्द्र शाहको गद्दी फिर्ति योजनामा उनले धव्वा नै लगाइदिए । प्रसाई समातिए भने यो विषयको रहस्य थप खुल्ने अपेक्षा समेत गरिएको  छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहले भनिरहेका थिए, समय आएपछि सबै हुन्छ । राजतन्त्र अन्त्य भएको झण्डै दुई दशकसम्म मौनप्राय बसेका ज्ञानेन्द्रले गएको फागुन ७ गते जनताले साथ दिनुपर्ने भन्दै वक्तव्य जारी गरे । सायद आफुले भन्दै आएको समय अब आयो ठानेर उनले जनतालाई यस्तो अपिल गरे । अनि, तातिन थाले राजावादी दलहरु । 

उनीहरुले पनि अबको आन्दोलनले नारायणहिटीसम्म ज्ञानेन्द्रलाई पु¥याउन मात्रै बाँकी रहेको भन्न थाले । राजावादी दल र शक्तिहरुले यस्तो दाबी गर्नु उनीहरुको राजनीतिक एजेण्डा पनि थियो । तर, त्यो स्थिति बनेको थियो त ? के पूर्वराजाको पक्षमा जनता सडकमा ओर्लिएर ज्यान दिन तयार भइसकेका थिए ? प्रश्न र चासोहरु स्वभाविक थिए । 

यस्तोमा प्रवेश भयो, पूर्वपञ्च नवराज सुवेदीको । नवराज सुवेदी धेरै मानिसले नचिन्ने पात्र । उनले पूर्वराजा ज्ञानेन्द्रको सत्तारोहणको जिम्मा निर्मल निवासबाटै पाए । यता, राजावादी राजनीतिक शक्तिहरु अलमलमा परे । राजेन्द्र लिङ्देन, कमल थापाहरु चकित मात्रै बनेनन्, सुवेदीलाई नेता मान्न तयार हुनुपर्ने भयो । अन्ततः भयो त्यस्तै । 

नवराज सुवेदीले आन्दोलनको नेतृत्व पाउने कुरामा पनि लम्बेतान विषयहरु चलिरहेका   छन् । तर, यसमा मुख्य भूमिका खेल्नेहरु थिए, रवीन्द्र मिश्र, धवल शमशेर जबरा लगायतका नेताहरु । उनीहरुले नै निर्मल निवासलाई उक्साए । नेतृत्व लिए ।  राप्रपालाई राजनीतिक रुपमा कमजोर नै बनाउने बाटो रोजे । तर, यो यसै रोकिनेवाला भने थिएन् । 

उनै सुवेदीले राजा ल्याउने आन्दोलनको जनकमाण्डर बनाइदिए, दुर्गा प्रसाईलाई । दुर्गा प्रसाई वामपन्थी रुझानमा हुर्किए । शीर्ष नेताहरुसँग लसपस गरे । 

कसैलाई सम्मानित भन्थे त कसैलाई हजुरबा । केपी ओली, प्रचण्डसँगको संगतले धेरै कुरा सिकेका दुर्गा प्रसाई मेडिकल कलेजको सम्बन्धन पाउन नसकेपछि भने राजा, हिन्दु राष्ट्र यस्ता धेरै कुराहरु लिएर आन्दोलनमा होमिए । यस्तो आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि झापाबाट समर्थन जनाइदिए । त्यसपछि अनेक उतारचढाव आएपनि प्रसाईले राप्रपा र राजावादी अन्य शक्तिलाई कहिल्यै स्वीकार्ने कुरा गरेनन् । 

अराजक र अमर्यादीत अभिव्यक्ति दिदै उनले जनतालाई भड्काउने काम गरिरहे । यस्तोमा चैत्र १५ गतेको प्रदर्शन पनि प्रसाईकै कारण विथोलिन पुग्यो । आन्दोलनमा ठूलो धनजनको क्षति भयो । सरकारले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । यस्तोमा राजावादी शक्ति र ज्ञानेन्द्र शाहको गद्दी मोहको केन्द्रमा छन्, दुर्गा प्रसाई ।

दुर्गा प्रसाईले काठमाडौंको तीनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शन हिंसामा बदलियो । दुई जनाको ज्यान गयो । धेरै घाइते भए । यसको कारण बने दुर्गा प्रसाई । 

सुरक्षाकर्मीमाथि गाडी कुदाएर मार्ने उद्देश्य राखेको सरकारले बताएको छ । उसोतः उनले चलाएको सवारीको वेग देख्दा पनि यस्तै लाग्छ । अश्लिल बोल्छन् । नियन्त्रण गुमाउन खोज्छन् । यो  उपद्रोपनकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहले झण्डै दुई दशक लगाएर आर्जिन थालेको जनताको सेन्टिमेन्ट प्रसाईले एकदिनमै ढालिदिएको विश्लेषण हुन थालेको  छ । 

सरकारको हिट लिस्टमा दुर्गा प्रसाई

सरकारले दुर्गा प्रसाईलाई चैत्र १५ गतेको घटनाको मुख्य योजनाकारको आरोप लगाएको  छ । प्रसाई प्रहरीको नियन्त्रणमा जतिबेला पनि आउन सक्छन् । यस्तोमा उनी नियन्त्रणमा आएभने पूर्वराजा ज्ञानेन्द्र शाहसँगको सम्वाददेखि योजना समेत छताछुल्ल हुनेछन् । 

किनकी यसअघि पनि पक्राउ पर्दा उनले माफी माग्नेदेखि प्रहरीसमक्ष आफूले गरेका सबै कामको बेलिविस्तार लगाउने गरेका छन् । 

यस्तोमा पूर्वराजा ज्ञानेन्द्रको योजना मात्रै छताछुल्ल हुनेछैन्, गद्दीमोह समेत भताभुङ्ग हुनेछ । दुर्गा प्रसाई अहिले फरार छन् । उनलाई सरकारले हिट लिस्टमै राखेको छ । तर, उनी कहिलेसम्म पक्राउ पर्छन भन्ने एकिन भने छैन् । प्रहरीलाई चक्मा दिदै उनले बसाई सार्न थालिसकेका छन् । 

यद्यपी, उनी पक्राउ परिसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले के गर्लान ? राजावादी शक्तिहरुले प्रसाईको उपद्रोविरुद्ध बल पाइरहेको बेला ज्ञानेन्द्रको मनोवल कस्तो रहला ? यस्ता तमाम विषयकाबीच यो विषय पर्ख र हेरको स्थितिमा देखिन्छ । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update