
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख रुपैयाँ जरिवाना तोकेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहमाथि बालेनले तोकेको जरिवानामा केवल जरिवाना होइन, राजनीतिक सन्देश पनि लुकेको त छैन भन्ने आकलन भइरहेका छन् ।
शुक्रबार तिनकुनेमा आयोजना गरिएको प्रदर्शनको आयोजक नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना गर्न ‘संयुक्त जनआन्दोलन समिति’ भएपनि बालेनले सिधै पूर्वराजालाई जरिवाना तोकेपछि बालेनको राजनीतिक चालमाल के हो भन्ने अट्कलबाजी शुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले चैत्र १५ गते तीनकुनेमा आयोजित कार्यक्रमको आयोजक पूर्वराजा ज्ञानेन्द्र शाहलाई करार गरेको छ ।
सरकारी निकायले नै पूर्वराजालाई चैत्र १५ गतेको कार्यक्रम आयोजक ठहर गरेपछि यो विषयमा छुट्टाछुट्टै चर्चा चल्न थालेका छन् । महानगरपालिकाले नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना गर्न ’संयुक्त जनआन्दोलन समितिलाई आयोजक किन मानेन ? समितिले जनकमाण्डर भन्दै अघि सारेका दुर्गा प्रसाईमाथि महानगरले किन जरिवानाको कदम चालेन ? यस्ता तमाम प्रश्नहरु सतहमा छन् । अझं यो कार्यक्रमको आयोजना दुर्गा प्रसाईले नै गरेका हुन् । आयोजक प्रसाई भएपनि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा जरिवानाको पत्र पठाएपछि यसको विवेचना अनेक ढंगले हुन थालेको छ ।
के छ पत्रको व्यहोरा ?
- मिति २०८१ चैत्र १५ गतेका दिन काठमाडौं महानगरपालिका वडा नं. – ३२ तिनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,००० / ०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।
- यसैगरि विभिन्न ८ शीर्षकमा जरिवाना गर्ने भनिएको छ । महानगरपालिकाले दमकल तोडफोडमा सर्वाधिक १ लाख ३० हजार जरिवाना तिराउने पत्रमा उल्लेख गरेको छ । पत्र ज्ञानेन्द्र शाह निर्मल निवासको नाममा काटिएको हो ।
कुन शीर्षकमा जरिवाना कति ?
१. कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत– रु. १ लाख
२. महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत– रु. १ लाख
३. तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत– रु. १ लाख
४. जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत– रु. १ लाख
५. बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत– रु. १ लाख
६. सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे वापत– रु. १ लाख
७. दमकल तोडफोड गरे वापत– रु. १ लाख ३० हजार
८. तीनकुनेमा रुख, विरुवा, रेलिङ तोडफोड गरे वापत– रु. ६३ हजार
जरिवाना र पूर्वराजा कनेक्सन
बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा जरिवाना तोकेर त्यो पत्र आइतबार निर्मल निवास पु¥याउदै छन् । आइतबार पूर्वराजाका हातमा जरिवाना तोकिएको पत्र थम्याउने योजना काठमाडौं महानगरले बनाएको हो । बालेनले पूर्वराजालाई यसरी किन जरिवानाको पत्र पठाए ? कार्यक्रमको आयोजकमा पूर्वराजा ज्ञानेन्द्र शाह कसरी प्रमाणित हुन्छन् ?
तमाम प्रश्नहरु गर्न थालिएको छ । बालेनमाथि अनेक आरोप समेत लाग्ने गरेका छन् । बालेनलाई केहिले राजावादी भन्ने आरोप समेत लगाउने गरेको देखिन्छ । यस्तोमा निर्मल निवासमा बालेनले गोप्य भेट गरेको दाबी समेत गरिएको छ । तर, बालेनले तोकेको जरिवानाले चर्चा भने अनेक किसिमले गर्न थालिएको छ ।
के गर्लान् पूर्वराजा ?
पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्लान ? महानगरपालिकाले तोकेको जरिवानामा राजावादी दलहरुले भन्दा पनि ज्ञानेन्द्रलाई नै आयोजक करार गरेको महानगरपालिकाले नयाँ भाष्य स्थापित गर्ला ? चासोहरु तमाम देखिएका छन् ।
गणतन्त्रवादी शक्ति, नेता र सञ्चारमाध्यममा समेत पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमै नवराज सुवेदी जनआन्दोलनको संयोजक र दुर्गा प्रसाई जनपरिचालन कमाण्डर बनेकाले कारबाही गर्दा त्यतै केन्द्रित हुनुपर्ने भनिरहेका छन् । यस्तोमा महानगरपालिकाले पनि यसतर्फ नै ध्यान केन्द्रित पारेपछि अब पूर्वराजाको आगामी कदमबारे चासो बढेको छ ।
सरकारलाई सहजताको अवसर
पूर्वराजा ज्ञानेन्द्र शाहले महानगरपालिकाको जरिवाना तिरेमा सरकारले उनलाई सहजै चैत्र १५ गतेको घटनाको मुख्य योजनाकारको रुपमा पेश गर्ने बाटो खुल्नेछ ।
सरकारले अहिले दुर्गा प्रसाईदेखि रवीन्द्र मिश्र, धवलशमशेर जबरा लगायतलाई अनुसन्धानको दायरामा तानेपनि पूर्वराजालाई सरकारी निकायले नै मुख्य आयोजकको रुपमा करार गरिसकेपछि सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि मुख्य दोषीको रुपमा अभियोजनदेखि घटनाको प्रमुख योजनाकार बनाउन सहज भने हुने देखिन्छ ।
निर्मल निवासको त्यो संकेत
निर्मल निवासमा नवराज सुवेदीदेखि राजावादी शक्तिहरुको आउजा बाक्लै देखिए । पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन फागुन ७ गते गरेको अपिलदेखि दुर्गा प्रसाईले सार्वजनिक रुपमा ज्ञानेन्द्रबाट अनुमति पाइसकेको भन्दै आन्दोलन उनी र आफूले मिलेर गर्ने भनिसकेका छन् ।
यस्तो अवस्थाका बीच निर्मल निवास प्रसाईसँग समेत प्रत्यक्ष जोडिने कडिको रुपमा यसलाई लिदा पनि पूर्वराजामाथिको संकट थप नजिक आउन लागेको चर्चा चल्न थालेको छ ।