
काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक बन्न पुगेको छ । पत्रकारले समेत जलेर ज्यान गुमाउने स्थिति बन्यो । प्रदर्शनकारी पनि घाइते हुनु प¥यो ।
राजावादी प्रदर्शनकारीलाई उक्साएका दुर्गा प्रसाई भागेर घर पुगेर सामाजिक सञ्जालबाट थप उत्तेजित बनाउन अपिल गरिरहेका छन् भने सरकारले सबै क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।
राजावादीहरुले लगाएको आगोमा परि एक जना पत्रकारले ज्यानै गुमाउनु परेको छ । रिपोटिङकै क्रममा रहेका पत्रकारको मृत्यु भयो । जलेर मृत्यु हुनेको सनाखत त भइसकेको छैन । तर, प्रारम्भिक जानकारी अनुसार जलेका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन नै हुन् । यतिमात्रै होइन आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउनु प¥यो ।
यसै कारण गोली लागि एकजनाको निधन पनि भयो । राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट एकजनाको ज्यान गएको हो । कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन् ।
यस्तै, आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका ७ जनाको उपचार जारी रहेको बताइएको छ । एकजनाको अवस्था भने चिन्ताजनक रहेको भनिएको छ । घाइतेमध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ घाइतेको उपचार जारी छ ।
सुरक्षा तैनाथी
राजावादी प्रदर्शनकारीहरुले जडिबुटीस्थित सञ्चो उत्पादन केन्द्रमा समेत आगजनी र तोडफोड गरे । त्यहाँ रहेका कर्मचारी भागेर धन्न ज्यान जोगाए । यस्तो स्थिति काठमाडौंको अधिकांश स्थानमा देखियो ।
प्रदर्शनकारीहरुले छानीछानी व्यक्तिका घर जलाए । तोडफोड गरे । सञ्चार माध्यममा समेत यस्तो नियति दोहोरियो । प्रदर्शनकारीहरु उत्तेजित बन्दै भाटभटेनी स्टोरमा लुटपाट गरे भने राजावादीले लगाएको आगोमा जलेर एकजना पत्रकारले ज्यानै गुमाउने स्थिति बन्यो ।
यस्तोमा अहिले सरकारले एमाले हेडक्वाटरदेखि प्रधानमन्त्री केपी ओलीको निवासमा बाक्लो सुरक्षा तैनाथी वन्दोबस्त गरेको छ भने, विभिन्न पार्टी कार्यालयमा समेत सुरक्षा बढाइएको छ ।
सुरक्षाकर्मी पनि घाइते
राजावादीको प्रदर्शनको क्रममा १५ बढि सुरक्षाकर्मी घाइते भएको विवरण सार्वजनिक भएको छ । घाइते सुरक्षाकर्मीको उपचार चलिरहेको गृहमन्त्रालयले बताएको छ । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घम्साघम्सी नै चलेको थियो ।
रास्वपा प्रमुख सचेतकको गाडी जलाइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गर्दै आएको सरकारी सवारी समेत जलाइएको छ । बालकुमारीमा परियारको सवारी साधन जलाइएको छ । तर, परियार भने सुरक्षित रहेको बताइएको छ । उनी कलंकीबाट भक्तपुरका लागि फर्कदै गरेका थिए ।
सुरक्षामा प्रश्न
सरकारले सुरक्षा व्यवस्था चुस्त पार्न नसकेको आरोप लागेको छ । भाटभटेनीमा भएको लुटपाटमा पनि प्रहरीलाई खबर गरिएको आधा घण्टा बढि समय लगाएर आएकोदेखि राजावादीले आगो लगाएको घरमा फसेका पत्रकारको उद्दारका लागि गरिएको अनुरोध पनि सफल हुन नसकेको देखिन्छ ।
सरकारले बल प्रयोगमा ध्यान दिएपनि सुरक्षा विश्लेषण, गुप्तचरी सूचना संकलनदेखि अन्य व्यवस्था गर्न कमजोरी गरेको भन्दै आलोचना र विरोध भने चलिरहेको छ ।