
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२\८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरुले भने ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् ।
राजश्व बढ्न नसकेको र अहिले वैदेशिक स्रोतमा पनि भारी गिरावट आइरहेकाले संयमतापूर्वक बजेट ल्याउन उनीहरुले सरकारलाई भनेका हुन् ।
आगामी आर्थिक वर्ष २०८२\८३ का लागि बजेट निर्माणमा अर्थमन्त्रालय सक्रिय छ । अबको बजेट कस्तो अनि कतिको बनाउने त्यसबारे चर्चा परिचर्चा समेत चलिरहेका छन् ।
पछिल्लो पाँच वर्षको आम्दानीको अवस्थालाई विश्लेषण गर्दा यो वर्ष ११ खर्ब ५० अर्बसम्म राजश्व उठ्नसक्ने विश्लेषण पनि भइरहेका छन् । अर्थविद् डा. पोषराज पाण्डेका अनुसार यसआधारमा अर्को वर्ष साढे १२ खर्ब राजश्व उठ्नसक्ने देखिन्छ । खासगरी सरकारले पहिलो काम राज्यले प्रशासनिक क्षमता वृद्धि गर्न जरुरी रहेको उनको भनाई छ ।
आर्थिक बिस्तार नभएसम्म मुलुकको विकास नहुने पूर्वमुख्यसचिव डाक्टर विमल कोईरालाको भनाई छ । बजारमा माग बढ्न नसकेको, कर्जाको बिस्तार पनि हुन नसकेको उनको भनाई छ । कोईरालाकाअनुसार मुलुक ग्रेलिस्टमा पर्दा लगानीकर्तामा संशयको स्थिति सिर्जना भएको छ ।
अहिले योजना अयोगले दिएको सिलिङ अवास्तविक रहेको कोइरालाको भनाई छ । विश्व राजनीति परिस्थिति परिवर्तन भएकाले सोही अनुकुलमा आधारित भएर बजेट बनाइनुपर्ने सुझाव कोइरालाको छ । यता, पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटाले समेत योजना आयोगले दिएको १९ खर्ब हाराहारीको सिलिङमा रहेर बजेट ल्याउन उपयुक्त हुने सुझाव सरकारलाई दिए ।
सिलिङ भन्दा ठूलो आकारको बजेट ल्याइए समस्या हुनसक्ने उनको भनाई छ । अब सरकारले करिब ४० प्रतिशत अनौपचारिक क्षेत्र रहेकाले त्यसलाई औपचारिकतातर्फ ल्याउनुपर्ने सुझाव बाँस्कोटाको छ ।
सबै सुविधा उद्योगपतिहरुलाई दिइएको र त्यसमा सुधार हुन जरुरी रहेको भनाई पूर्वसचिव विद्याधर मल्लिकको छ । भने पूर्व अर्थसचिव मधुकुमार मरासिनीले तल्लो तहमा जाने सशर्त अनुदान पठाउन अब जरुरी नरहेको सुझाव दिएका छन् ।
सरकारको वित्त नीति र मौद्रिक नीतिबीच केही दरार देखिएको छ । मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई कसिलो पार्नु गलत हुने भएकाले बजेटमा नै विशेष सुधार आवश्यक गर्न सुझाव अर्थविद्हरुको छ ।