
झापा । यातायात व्यवस्था कार्यालय झापामा विचौलियाको रजगज जमेको छ । कर्मचारीसँगको मिलेमतोमा यातायात व्यवस्था कार्यालय विचौलियाको कब्जामा पर्दा सेवा लिन आउने सेवाग्राही ठगिने गरेका गुनासा व्याप्त छन् ।
सेटिङ्गमा विचौलियाहरुले खुलेआम यातायात व्यवस्था कार्यालय आसपासमा अड्डा नै जमाएर आर्थिक लेनदेन गर्ने गरेका छन् । यो हो झापाको यातायात व्यवस्था कार्यालय । यो कार्यालय अहिले विचौलियाको कब्जामा छ भन्दा पनि फरक पर्दैन । यस कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले विचौलियालाई पैसा नबुझाएसम्म सहजै काम हुँदैहुदैन । यातायात कार्यालयमा यतिसम्म बेथिति रहेको छ कि खुलेआम सेटिङ्गमा बिचौलियाहरुले सरकारी कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नै दुरुपयोग गर्ने गरेका छन् ।
सेटिङ्गमा सरकारी छाप र अधिकृतको हस्ताक्षर दुरुपयोग गरि कार्यालयसंगको मिलेमतोमा बिचौलियाले आफुबाट ४८ हजार ८२० रुपैयाँ लिई रसिद दिएपनि कार्यालयको भिट्याक्समा ८२० रुपैयाँको मात्रै रसिद काटेको ४८ हजार ठगेको कनकाई नगरपालिकाका अम्बर बहादुर चौहान बताउँछन् ।
भिट्याक्स नम्बर एउटै भएको रसिदमा यतिको रकम फरक पर्नुमा कार्यालयको संलग्न छर्लङ्ग भएको आरोप चौहानको छ ।
यता कनकाई नगरपालिका १ का रमन अधिकारीले पनि आफ्नो बाइक र स्कुटरको बार्षिक कर तिरेपनि यातायात कार्यालयको मिलेमतोमा बिचौलियाले बिलबुकमा करचुक्ता गरिदिए पनि कार्यालयको राजस्वमा दाखिला नभएपछि आफु ठगिएको गुनासो गरिरहेका छन् ।
बिचौलियाको सहयोग नलिइ काम नै नहुने, उनीहरुलाई जिम्मा दिँदा ठगिनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।
लामो समयदेखि यातायात व्यवस्था कार्यालय झापामा लेखापढीको काम गर्दै आएका कन्काई निवासी विशाल भण्डारीले चौहान, अधिकारी जस्तै अन्य थुप्रै सेवाग्राहीको लाखौं रुपैयाँ ठगि अहिले फरार रहेको बताइएको छ ।
उनले कर्मचारीको मिलेमतोमा कार्यालयको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेर सेवाग्राहीको रकम लिएर फरार भएको पीडितहरूको भनाई छ । मोटरसाइकल, स्कुटर , ट्याक्टर लगायतका सवारी साधनहरूको कर तिर्न सेवाग्राहीबाट भण्डारीले रकम लिएर कार्यालयमा भने रकम दाखिला नगरेको खुलेको छ ।
अघिल्ला बर्षको कर रकम तिरेर बाँकी रहेको यस बर्षको कर तिर्नका लागि यातायात कार्यालयमा पुग्दा सिस्टममा पुरानै कर तिर्न बाँकी रहेको देखिएपछि आफुहरु ठगिएको विर्तामोडका कृष्णप्रसाद कडरिया बताउँछन् । आफुले विश्वाससाथ कार्यालयमा रहेका बिचौलिया भण्डारीमार्फत कर तिर्न दिएको तर, बिलबुकमा यातायात व्यवस्था कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भएपनि त्यो कार्यालयको राजस्व सिस्टममा नरहेपछि आफु कर्मचारी र बिचौलियाको सेटिङ्गमा ठगिन पुगेको बताउँछन् ।
कार्यालयको छाप यसरी दुरुपयोग हुँदा पनि यसलाई रोक्नका लागि कार्यालयले कुनै पहल कदमी गरेको सेवाग्राहीको दुखेसो छ ।
अमरबहादुर चौहान, रमन अधिकारी, कृष्णप्रसाद कडेरिया, प्रेमप्रसाद अधिकारी जामुनबाडी सामुदायिक वन, बद्री चौधरी, युवराज अधिकारी, परमानन्द राजवंशी, विजय पाण्डे, निश्चल ओली, नितिन अग्रवाल, यसनाथ अधिकारीलगायतका सेवाग्राही ठगिएका छन् ।
उनीहरु फरक फरक प्रकृतिको घटनामा कतिपयको बिल नै नक्कली , नबिकरण नक्कली समेत फेला परेको छ । यस बिषयमा कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले सतही जवाफ दिँदै पन्छिने कोसिस गरेका छन्।
कार्यालयमा सेवा चुस्तदुरुस्त बनाउन र सेवाग्रहीलाई सहज सेवा प्रदान गर्न आफुले निरन्तर प्रयास गरिरहेको बताउँछन् । साथै उनले कार्यालयबाट कुनै कमजोरी भएको खुलेमा त्यसको भागेदार सो काम गर्ने कर्मचारी स्वयंम हुने बताउँछन् ।
यातायात व्यवस्था कार्यालयमा खुलेआम सेण्डिकेड नै खडागरेर बिचौलियाले रजगज गर्दा समेत यस विषयमा कार्यालय गम्भिर देखिदैंन ।
कर्मचारीको मिलेमतो नभइ आर्थिक चलखेलका लागि गैर कर्मचारीले कार्यालयको सरकारी छाप र अधिकृतको हस्ताक्षर दुरुपयोग कसरी गर्न सक्छन् ? त्यो पनि कार्यालयमा नै पुगेर । आर्थिक सेटिङका लागि भइरहेका यि ठगी धन्दा तत्काल बन्द नभए यसले गम्भिर रुप लिने निश्चित छ ।