News 24 Television
प्रधानमन्त्रीले १८ गते संसदमा जवाफ दिने, संसद अवरोधबाट पछि हटे विपक्षी

काठमाडाैँ । संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने सहमति जुटेकाे छे । विपक्षी दलहरूले पनि आइतबारबाट संसद चल्न दिने भएका छन् ।

शुक्रवार सभमुख देवराज घिमिरेसहित बसेको पमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन् । उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिनुभएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।

सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रश्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आईतवार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए । उनले प्रतिपक्षी दलहरुको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरुले आनाकानी गरेको बताए ।

उनले भने, 'प्रमुख प्रतिपक्षले संसदमा लगातार नेपाल सरकारले गरेको एउटा निर्णय विद्युत प्राधिकरणको एमडीका बारेमा गरेको निर्णयसँग सम्बन्धित गरेर तीन दिनदेखि हाउस अवरुद्ध गरिरहेको अवस्था छ । हामीले यो हाउस खुलाउन लगातार प्रयत्न पनि गरिरहेका छौँ । हाउस खुलाउन १३ गतेदेखि नै लागिरहेका छौँ । उहाँहरुले प्रधानमन्त्रीको जवाफ माग्नुभयो । विभागीय मन्त्रीले जवाफ दिनुहुन्छ, भनेर आग्रह गर्यौँ । मान्नुभएन । उपप्रधानमन्त्रीको तहबाट यो विषय राख्नुहुनेछ । भन्यौँ, मान्नुभएन । आजसम्म हाउस अवरुद्ध भयो । आज पनि विभिन्न छलफल गरियाे । आज हामीले एउटा निर्णय गरेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्युले मेजर अपोजिसनले माग गर्नुभयो । एउटा विषय त्यो पनि रह्यो । सँगै अन्य कतिपय विषयहरुमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता छ । प्रमुख प्रतिपक्षले उठाएका विषयवस्तुलाई पनि ख्याल पुर्याएर सम्माननीय प्रधानमन्त्रीज्युले आगामी १८ गतेको बैठकमा संसदको आगामी १८ गतेको बैठकमा सम्बोधन गर्ने भन्ने भएको छ । यो विषय राख्यौँ, सत्तापक्षको तर्फबाट । प्रधानमन्त्रीले बोल्ने विषय १८ गते बोल्नुहुन्छ । आजबाट हाउस अघि बढाऔँ भनेर प्रमुख प्रतिपक्षलाई आग्रह गर्दा सहमत भएका छन् ।'

सरकारले ल्याएका अध्यादेश प्रतिस्ठापन विधेयकहरु १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भए पनि प्रतिपक्ष दलहरुको अवरोधका कारण अहिलेसम्म अड्किएको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update