
काठमाडौँ । म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा केन्द्रविन्दू रहेको उक्त भूकम्पले थाइल्याण्डमा पनि शक्तिशाली कम्पन पैदा गरेको छ ।
शुक्रबार बिहान गएको भूकम्पका कारण कैयौँ भौतिक संरचना ढलेको बताइएको छ । म्यानमार सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै आधिकारिक जानकारी जारी गरेको छैन । तर सञ्चार माध्यमहरुले म्यानमार र थाइल्यान्डमा भवन भत्किएका र मानिसहरु भागिरहेका भिडियो तथा तस्वीर सार्वजनिक गरेका छन् ।
भूकम्पका कारण म्यान्मारको राजधानी नेपिएडोमा केही क्षति पुगेको विवरण छ बिबिसीले दिएको छ । राजधानीका सडकहरू भत्किएको बताइएको छ ।
थाइल्यान्डको बैंककमा भवनहरूमा क्षति पुगेको छ । बैंककमा भुइँचालो थेग्न सक्ने गरी भवन निर्माण नगरिएका कारण ठूलो क्षति पुगेको हुन सक्ने ठानिएको छ । थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ ।
म्यानमार र थाइल्यान्डबाहेक दक्षिण पश्चिम चीनमा पनि उक्त भूकम्पको धक्का महसुस गरिएको थियो । क्षतिको यकीन विवरण आउन बाँकी छ ।