News 24 Television
प्रतिनिधि सभा बस्दै नबसी १७ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभको बैठक बस्दै नबसी १७ गतेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध कायमै राखेका कारण सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । अर्को बैठक १७ गते ११ बजेका लागि तय गरिएको छ ।

बुधबार विपक्षीहरुको अवरोधका कारण दिनभर बैठक चल्न सकेन । बिहीबार पनि २ पटक सूचना टाँस गरेर बैठक स्थगित गरियो । शुक्रबार (आज) बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो सवा १ बजेका लागि सारिएको थियो । यस बीचमा पनि सभामुखले दलहरुबीच कुरा मिलाउने पहल जारी राखे । तर विपक्षी र सत्तापक्ष आफ्नै अडानमा बसेपछि बैठक १७ गते (आइतबार) का लागि स्थगित गरिएको हो । 

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीले संसदमै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेर संसद अवरोध गरिरहेका छन् । तर प्रधानमन्त्री ओली जवाफ दिन आवश्यक नभएको भन्दै पन्छिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update