
काठमाडौं । काठमाडौंमा आज राजतन्त्रवादी र गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाले फरक-फरक स्थानमा विराेध प्रदर्शन गर्दैछन् ।दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डप स्थित सडकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् ।
दुवैले एक अर्काविरुद्ध प्रदर्शन गर्न लागेका छन् । आन्दोलनका लागि तयारी तिब्र पारिएको छ । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ ।
राजावादी र समाजवादी दुवैको प्रदर्शनले विभिन्न रुटमा ट्राफिक जामको समस्या बढेको छ । सार्वजनिक सवारी साधनहरु अत्यन्त कम मात्र चलेका छन् । भृकुटीमण्डप स्थित मूल सडकमै समाजवादी मोर्चाको मञ्च ठड्याएपछि रत्नपार्क जोड्ने प्रायः सबै रुटमा सवारी आवागमन प्रभावित भएको छ ।
आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् । आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरु उतार्ने दाबी गरेको छ । आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।