News 24 Television
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी 

कास्की । चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दुमा सिधै व्यावसायिक चार्टर उडान शुरु भएसँगै दुवै देशका पर्यटन व्यवसायी उत्साहित भएका छन् । हप्ताको एक उडान गर्ने जनाईए पनि यसलाई हप्ताको तीन उडान बनाउनेतर्फ पोखराका सरोकारवाला निकायले छलफल तथा भेटघाटलाई तिव्रता दिएका छन् । 

थाइल्याण्डकै दूरीमा रहेको पोखरा, चिनियाँहरुले रुचाउने भएकाले सिचुवान प्रान्तले त्यही अनुरुप पोखराको प्रचार गरिरहेको पनि सीटीएसले जनाएको छ । 

सीटीएस सिचुवान प्रान्तको उडानसम्बन्धी काम गर्ने सरकारी निकाय हो । सिचुवानले पोखरामा १० वटा चार्टर उडान गर्ने प्रतिवद्धता जनाइसकेको छ भने पहिलो उडानमार्फत् चीन गएका नेपाली प्रतिनिधिमण्डल पनि पोखरा फर्किसकेका छन् । 

सिचुवान एयरलायन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चैत्र ६ गते १ सय २८ जना चिनिया पर्यटकलाई ल्याएको थियो भने सोही फ्लाइटमा १ सय २६ जना नेपाली पर्यटकलाई चीनको छेन्दु लगेको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको करिव अढाई वर्षपछी पोखराबाट पहिलो पटक भएको यो अन्तर्राष्ट्रिय व्यवसायिक उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रबद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ । 

चीन–पोखराको यो उडानलाई नियमित बनाउन अहिले पोखराका पर्यटन व्यवसायी र सम्वद्ध संघसंस्थाहरु लागिरहेका छन् । चिनको छेन्दुमा पनि यो व्यवसायिक उडानलाई नियमित गर्न चिनियाँ पर्यटन व्यवसायीहरुले विभिन्न योजना अगाडी सारेको र पोखरा जस्तो ठाउँमा व्यवसायिक सम्बन्ध गाँस्न पाउँदा निकै खुशी महशुस भएको सिटीएसका प्रवन्धक यानले जनाएका छन् ।

शुरुको तीन महिनामा सिचुवान एयरलायन्सले छेन्दुबाट करिब १२ सय ५० चिनियाँ पर्यटक ल्याउने लक्ष्य राखिएको छ भने पोखराबाट पनि उल्लेख्य नेपाली पर्यटक छेन्दु लाने जनाइएको छ । प्रारम्भमा चार्टर्ड उडान भएपनि विस्तारै नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा परिवर्तन गर्ने योजना सारिएको छ । 

पोखरा आउने चिनियाँ पर्यटकहरू केवल बस्ने खाने मात्र नभै बोटिङ, सपिङ, पदयात्रा, प्याराग्लाइडिङ लगायत सबै किसिमका गतिविधिमा सहभागी हुनेछन् । जसले गर्दा चिनियाँ पर्यटकलाई पोखरामा आकर्षित गर्ने र छेन्दु–पोखराको नियमित व्यवसायिक उडानलाई थप मद्दत मिल्नेछ । 

उल्लेख्य चिनियाँ पर्यटक आउनेमा विश्वस्त रहेको जनाउँदै अव छिट्टै हप्ताको २, ३ उडान हुने तर त्यसका लागि सबैले पहल गर्नुपर्ने पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठ बताउँछन् । 

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष वितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । 

चीनको छेन्दु–पोखरा–छेन्दु उडानको लागि अहिले भइरहेको यो प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ । 

चीनको छेन्दु र नेपालको पोखराबाट हुने यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पु¥याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्ववपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update