News 24 Television
आमनेसामने नै धारे हात लगाउने तीन ‘दुश्मन नेता’ स्वार्थ मिल्दा एकै ठाउँ !

काठमाडौँ । सधैँ आपसी तिक्तता, जालझेल, धोकाधडी, दुश्मनीका पर्याय बनेका प्रमुख तीन नेता बेलाकुबेला एकै ठाउँ देखिनु नौलो कुरा रहेन । विगत डेढ दशकदेखि सत्ता, राजनीति र पार्टी तहको केन्द्रमा रहेका देउवा–ओली–प्रचण्ड घरी तीनतिर, घरी दुईतिर लाग्छन् त घरी एकै ठाउँ देखापर्छन् । अहिले ओली–देउवाको मिल्ती सत्तामा छ भने प्रचण्ड सत्ताबाहिर छन् । प्रायः कम बोल्ने देउवाभन्दा बढी धारे हात लगाउने ओली र प्रचण्डबीचको दुश्मनी सतहमै देखिएको छ । तर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा तीनै नेताले मिल्तीको मिलनविन्दु खोजिरहेका छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री काँग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता प्रचण्डलाई बोलाएर सिंहदबारमा भेटघाट गरे । भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) गठनका लागि प्रक्रिया अघि बढाउन तीनै नेता सहमत देखिए । तर सोही राति ओली सरकारले प्रचण्ड निकट मानिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएर आफ्ना प्रिय पात्र हितेन्द्रदेवलाई राखे । यसमा मौन समर्थन जनाएका देउवाले राष्ट्र बैंकको गभर्नरमा भाग खोजेको विश्लेषण भइरहेछ । उता, प्रचण्ड भने ओलीप्रति थप चिढिएका छन् र संसदमा अवरोध खडा गरेर रिस पोख्दै छन् । ओलीले एकातिर देखाएर अर्कातिर हानेको भन्दै रन्थनिएका प्रचण्ड फेरि बिहीबार ओली–देउवासँग एकै मञ्चमा देखिए । 

बिहीबार जवाफदेहिता निगरानी समूह र द्वन्द्वपीडित संगठनहरुले आयोजना गरेको संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनमा तीनै नेता एकै मञ्चमा देखिएका हुन् । अझ सम्मेलनको उद्घाटनका क्रममा ओली–प्रचण्ड–देउवाले संयुक्त रुपमा पानसमा बत्ती बालिरहेको तस्वीरले धेरैको मन खिचेको छ । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले त काँग्रेस–एमाले–माओवादी नेता÷कार्यकर्ताहरुले एक–अर्कालाई गाली गर्नुअघि तीन नेताको उक्त तस्वीर हेर्न सुझाव नै दिएका छन् । उनले भनेका छन्, ‘देशमा लोकतन्त्रको नाममा सिन्डिकेट चलिरहेको छ भन्ने गज्जबको उदाहरण हो यो । संसद् बन्द छ । भाषणमा कहिले भेट नहुने र भेट्नेबित्तिकै काटाकाट हुनेझैँ चर्को स्वर सुनिन्छ । तर वास्तविकता के हो, तस्बिरमा छर्लंग छ ।’ 

मञ्चमा प्रधानमन्त्री ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको भन्दै समाजलाई थप बिथोल्ने काम नगर्न आग्रह गरे । नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताउँदै ओलीले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको बताए । त्यसको श्रेय र जस आफूलाई नचाहिने उनले जिकिर गरे । अशान्ति भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गर्दै ओलीले आज मुलुकमा अधिनायकवादी नभएर लोकतान्त्रिक सरकार रहेको जिकिर समेत गरे । आफूले आलोचनालाई स्वागत गर्ने बताउँदै उनले समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गरे । 

एकै मञ्चमा रहेका विपक्षी नेता प्रचण्डलाई घोचपेच गर्न भने ओलीले बिर्सेनन् । विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै उनले प्रश्ने गरे– अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? माओवादीले मच्चाएको द्वन्द्व राष्ट्रिय गल्ती भएको उनको भनाइ थियो ।

विगतमा सशस्त्र द्वन्द्वका कमाण्डर रहेका प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा दलहरुबीच विवाद नरहेको दाबी गरे । टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्ने समझदारी तीनै नेताबीच भएको उनको दाबी छ । आफूहरु नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट रहेको प्रचण्डले बताए । सत्ता साझेदार देउवाले पनि सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको दाबी गरे । अब गठन हुने आयोगले शान्ति सम्झौताको मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे ।

यसरी आमनेसामने नै धारेहात लगाउने, बाहिर काटाकाट नै गरिरहेको र अब त कहिल्यै यिनीहरु मिल्न सक्दैनन् भन्नेजस्तो भ्रम छरिरहेका ओली–देउवा–प्रचण्ड स्वार्थ मिल्ने मुद्दामा भने सारा तिक्तता र दुश्मनी भुलेर एकै ठाउँमा देखिन्छन् । यसलाई नेतृत्वको विशिष्ट गुण भन्ने कि विकृत राजनीतिको स्वार्थी चरित्र भन्ने ? 
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update