News 24 Television
प्रचारबाजी गरेर हिट हुन खोज्ने कर्मचारीलाई लगाम लगाउने मन्त्रीको चेतावनी

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताए । उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गरे ।

कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत उनले दिएका छन् । मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराए ।

मन्त्री खड्काले भने, ‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथिहरुलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिष्पर्धा चलेको छ । यसले समाजलाई कँही पुर्याउँदैन । साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानूनभित्र बसेर काम गर्ने हो । यसमा तपाईहरुको पनि ध्यान जाओस् ।’

उनले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्याउने लक्ष्यसहित काम गरिरहेको दाबी गरे । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ । 

उनले भने, ‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपक वार्षिक एक हजार ५०० युनिट पुर्याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रि ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत अगामि २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्याउने लगायतका लक्ष्य रहेका छन् ।’

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update