News 24 Television
बजेटको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयले सम्झिएपछि स्थानीय तहका जनप्रतिनिधि खुशी

काठमाडौं । सरकार अहिले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जुटिसकेको छ । बजेटमा योजना माग्नका लागि पालिका प्रमुखहरु विभिन्न मन्त्रालय धाइरहेका छन् । अहिले सबैजसो मन्त्रालयमा योजना माग गर्नेहरुको घुइँचो देख्न सकिन्छ । शहरी विकास मन्त्रालयले भने बजेट निर्माणको पूर्वसन्ध्यामा स्थानीय तहका जनप्रतिनिधिसँग पटक पटक छलफल गरिसकेको छ । 

मंगलबार २ सय ९३ पालिकाका प्रमुख र उपप्रमुखलाई एकै ठाउँमा राखेर आउँदो बजेटमा स्थानीय सरकारको प्राथमिकता र पालिकाको पूर्वाधार विकासमा नगर विकास कोषसँगको सहकार्यका क्षेत्रकाबारे छलफल भयो ।

छलफलपछि उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको नजिकको सरकार स्थानीय तहका जनप्रतिनिधिबाट आएका सुझावले आगामी बजेट निर्माणलाई ठिक ढँगले अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनले देशको विकासका लागि संघीय र स्थानीय सरकारबीच योजना निर्माणकै तहदेखि सहकार्य हुनुपर्नेमा जोड दिँदै आफूले निरन्तर स्थानीय तहका प्रतिनिधिहरुसँग संवाद गरिरहेको बताए ।  

2-1743060676.jpg
 ‘यो छलफलले आगामी दिनमा संघीयता बलियो बनाउन र विकासको काममा तीनै तहको सरकारबिचको समन्वय राम्रो बनाउने विश्वास लिएको छु,’ उपप्रधानमन्त्री सिंहले भने ।  

उपप्रधानमन्त्री सिंहले यसअघि उपत्यकामा रहेका सबै पालिकाका प्रमुख,उपप्रमुखसँग उपत्यकालाई कसरी सुन्दर बनाउने भन्नेबारेमा पटक पटक छलफल गरिसकेका छन् ।  सिंहले बजेट निर्माणका क्रममा जनप्रतिनिधिहरुसँगको छलफल फलदायी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि छलफलबाटै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा सर्लाहीको बरहथवा नगरपालिकाकी नगरप्रमुख कल्पना कटुवालले आफुहरुलाई कतिपय मन्त्री भेट्नै कठिन भइरहेका बेला शहरी विकास मन्त्रालयले बोलाएरै विकास निर्माणका योजनाबारे छलफल गरेको भन्दै खुशी व्यक्त गरिन् । उनले यसरी छलफल गर्ने राम्रो संस्कृति शुरु गरेकोमा उपप्रधानमन्त्री सिंहलाई आभार व्यक्त गर्दै अरु मन्त्रीहरुले पनि उहाँबाट सिक्नुपर्ने बताइन् ।  

पञ्चदेवल विनायक नगरपालिका अछामकी नगर प्रमुख अम्बिका चलाउनेले पनि शहरी विकास मन्त्रालयले बजेट निर्माणको पूर्वसन्ध्यामा आफ्नो मन्त्रालयसँग जोडिएको योजनाबारे स्थानीय तहको धारणा बुझ्नु अत्यन्त सकारात्मक थालनी भएको बताइन् । 

 ‘बजेटको पूर्वसन्ध्यामा स्थानीय विकासको जिम्मेवारी लिएका देशभरका नगरप्रमुखसँग उपप्रधानमन्त्री सिंहले आवश्यक्ता बुझ्नुभयो ,’ प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले भने, ‘यसरी हो समुदायको विकास आवश्यक्ता पहिचान गर्ने । हल्ला हैन चुपचाप काम गर्ने यो पद्धती सबै मन्त्रीज्यूहरुले पालना गर्न जरुरी छ ।’ 

उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालय समहालेपछि शहरी नीति पारित भएकोप्रति पनि स्थानीय सरकारका जनप्रतिनिधिले खुशी वयक्त गरे । उनीहरुले शहरीकरणका क्रममा भोग्दै आएका समस्याबारे उपप्रधानमन्त्री सिंहलाई समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । उपप्रधानमन्त्री सिंहले त्यसका लागि आफूले पहल गरिररहेको र नीतिगत रुपमै सुधार गर्नका लागि आफू लागिरहेको बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update