
रौतहट । रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय चिनियाँ नागरिकहरूको गतिविधिले स्थानीय सशंकित बनिरहेका छन् ।
ठूलो संख्यामा यताउता गरिरहेका उनीहरु बालबालिकाहरूलाई पैसा दिदै चिनियाँ भाषा पढाउनुको साथै चिनियाँ सामाजिक सञ्जालमार्फत ती गतिविधिहरूलाई लगातार प्रत्यक्ष प्रसारण पनि गरिरहेका हुन्छन् । कुनै पनि निकायको अनुमतिबिना सञ्चालित यस्ता भाषाका कक्षाहरूबाट बालबालिकाहरूको दुरुपयोग हुने हो कि भन्ने आशंकाक गर्न थालिएको छ ।
यो दृश्य हो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको तेली समाज धर्मशालाको जहाँ करिब २ सय भन्दा बढी स्थानीय बालबालिकाहरू चिनियाँ भाषा पढिरहेका छन् । उनीहरुलाई एक चिनियाँ युवतीले भाषा पढाइरहेकी छिन् । भित्तामा ठूलो कालो रङ लगाएर ब्ल्याकबोर्ड बनाइएको छ ।
त्यहाँ चिनियाँ भाषा त्यसको नेपाली र अंग्रेजी अर्थ लेखिएको छ । यसरी पढाइरहेका बेला अर्का चिनियाँ युवकले आफ्नो मोबाइलमा रहेको चिनियाँ एपमार्फत लगातार प्रत्यक्ष प्रसारण गरिरहेका छन् । ती पढाउने युवतीको हातमा मोबाइल बाँधिएको छ ।
उनी पनि प्रत्यक्ष प्रसारणमा जोडिएकी छिन् । बेलाबेलामा उनी आफ्नो मोबाइलमा हेरेर चलाइरहेकी हुन्छिन् ।
यो कक्षामा पढ्ने अधिकांश विद्यालयमा अध्ययनरत साना उमेरका बालबालिकाहरू रहेका छन् । चिनियाँ कक्षामा पढेबापत् उनीहरूले दिनको ५० रुपैयाँ पाउने गरेको बताउँछन् ।
यसरी कक्षा सञ्चालन गर्ने चिनियाँ नागरिकहरू चीनको कुन ठाउँबाट आएका हुन् र कक्षा सञ्चालन गर्नुको उद्देश्य के हो कसैलाई थाहा छैन ।
स्थानीयका अनुसार करिब १५ दिनदेखि उनीहरूले चन्द्रपुर नगरपालिकाका अन्य वडाहरूमा पनि यसरी कक्षा सञ्चालन गरिरहेका छन् ।
समूहमा आएका उनीहरूले सञ्चालन गरेका कक्षाहरूमा पैसा तथा उपहार पाउने लोभमा ठूलो संख्यामा बालबालिकाहरू आउने गरेको पाइन्छ । राम्रोसँग सिक्ने बालबालिकाहरूलाई उनीहरुले साइकल लगायतका सामग्रीहरु पनि उपहार दिने गरेका छन् ।
चिनियाँ भाषा कक्षा पढ्नकै लागि बालबालिकाहरू हतारहतार स्कुल छोडेर आउने गरेको गुनासो शिक्षकहरूको छ । उनीहरुले भाषा कक्षामा पाएको गृहकार्य विद्यालयमा गर्ने गरेकोले पठनपाठन समेत प्रभावित भएको विद्यालयको भनाइ छ ।
बालबालिकाहरूलाई यसरी अनाधिकृत रुपमा एक ठाउँमा जम्मा पारेर विभिन्न क्रियाकलापहरू गर्नु र यिनीहरुलाई सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्नु बालबालिकाहरूको लागि जोखिमपूर्ण हुन सक्ने भन्दै बाल अधिकारकर्मी चिन्तित बनेका छन् ।
कुनै पनि नेपाली नागरिक वा संघसंस्थाहरुले यस्ता कक्षा सञ्चालन गर्न सम्बन्धित निकायसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । अझ विदेशी नागरिकहरूको हकमा कानुनी जटिलता अझ बढी नै रहेको छ । तर पर्यटक भिषा नेपाल आएका चिनियाँहरुले बिना अनुमति यसरी कक्षा सञ्चालन गरिरहँदा पनि प्रहरीले गम्भीर रुपमा नलिएको स्थानीयको गुनासो छ ।
पर्यटक भिसामा नेपाल आएका उनीहरू यतै स्थानीयहरूको घरमा डेरा लिएर बसेका छन् । कक्षा सञ्चालन गर्ने स्थानहरूमा घरबेटीहरूलाई पनि मासिक १० हजारदेखि १५ हजारसम्म भाडा बुझाउने गरेको पाइएको छ ।
कक्षामा सहभागी हुने बालबालिकाहरुलाई कतै दिनको ५० रुपैयाँ कतै १०० रुपैयाँसम्म पनि दिने गरेको पाइएको छ ।
कक्षा सञ्चालन गर्न सहयोग गर्ने स्थानीय सहयोगीहरूलाई पनि उनीहरुले दैनिक सयदेखि २ सयसम्म दिने गरेका छन् । यसरी मनलाग्दी रकम खर्च गरेर बालबालिकाहरूलाई चिनियाँ भाषा पढाउनुको उद्देश्य के हो भन्नेमा प्रहरी बेखबर छ । तर उनीहरुमाथि कारवाही सुरु भईसकेको प्रहरीको दाबी छ ।
पर्यटक बनेर चन्द्रपुर नगरपालिकामा आएका चिनियाँ जतिबेलै पनि सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रशारण गरिरहेका हुन्छन् ।
यहाँका सार्वजनिक स्थल, होटल, रेस्टुरेन्ट , सार्वजनिक समारोह व्यक्तिगत कार्यक्रमहरू जता पुगेपनि प्रत्यक्ष प्रशारणका लागि उनीहरु मोबाइल तेस्र्याइ हाल्छन् ।
व्यक्तिगत तथा सामाजिक गोपनीयताको ख्याली नगरी गरिने यस्ता क्रियाकलापहरूप्रति स्थानीयको गुनासो आउन थालेपछि प्रहरी प्रशासनसँग अनुसन्धानका लागि पहल गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले बताउँछन् ।
उनीहरूले सञ्चालन गरेको भाषा कक्षामा सानो उमेरका मात्र नभएर कलेज पढ्ने युवा युवतीहरूको पनि उपस्थिति राम्रै देखिएको छ । भोलिका दिनमा यी चिनियाँ नागरिकहरुले कुनै आपराधिक वा अप्रिय घटना घटाए त्यसको जिम्मेवार को हुने टुंगो छैन ।
अनुमति नलिई भइरहेका यस्ता अवान्छित गतिविधिप्रति सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने देखिएको छ ।