
काठमाडौँ । सोमबार विकसित राजनीतिक घटनाक्रमले मुलुकको माहोल फेरि एकपटक तातेको छ । सोमबार साँझतिर प्रमुख विपक्षी दलका नेता प्रचण्डलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा छलफल गरे । सत्ता सहयात्री काँग्रेस सभापति शेरबहादुर देउवासहित भएको उक्त भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) गठनका लागि सहमति खोज्ने बहानामा उक्त भेट आयोजना गरिएको थियो । सत्य निरूपण, मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिबारे सर्च कमिटी बनाउने सहमति तीन नेताबीच भएको थियो । एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसा नयाँ सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भए पनि सरकारले पुरानै सदस्यहरु रहेको सर्च कमिटीलाई सक्रिय बनाएको सार्वजनिक भयो ।
त्यो भेटबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छिटै नै निस्किए । तर देउवा र ओली भने थप छलफलमै अबेरसम्म बसे । त्यही क्रममा एकातिर अलमल्याएर अर्कातिर हान्ने रणनीति दुई नेताले बनाएछन् । बाहिर टीआरसी कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति भएको समाचार आइरहेको थियो, भित्र ओली र देउवा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने रणनीति बुनिरहेका थिए । नभन्दै सोही राति बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखक लगायत अधिकांश काँग्रेस नेताको आपत्तिका बीच पनि प्रधानमन्त्री ओलीले कुलमानको पद खोस्ने निर्णय गरे । यसबारे प्रचण्डसँग केही पनि संकेत वा संवाद नगरिएको तर आफूलाई एउटा विषयमा अलमल्याउन बोलाएर अर्को निर्णयमा सरकार लागेको आरोप प्रचण्डले नै लगाएका छन् । राप्रपा सांसद ज्ञानेन्द्र शाही लगायत केहीले प्रचण्डले टीआरसी सम्झौतासँग कुलमानको पद साटेको गम्भीर आरोप लगाए । तर यसबारे प्रचण्डले बुधबार आपत्ति जनाएका छन् ।
अध्यक्ष प्रचण्डले आफूमाथि ओलीले पुनः जालझेल गरेको बताएका छन् । गत असारमा आफूसँग बालुवाटारमा घण्टौँ बसेर ओलीले स्वर्ग र नर्क सँगै जाने वाचा गरेको तर भित्री रुपमा देउवासँग सत्ता साँठगाँठ गरिसकेको चाल पछि मात्र बुझेको भन्दै प्रचण्ड पछुताउँदै आएका थिए । असार १७ गते दिउँसो प्रचण्डलाई भेटेर निस्किएका ओलीले राति देउवासँग सात बुँदे सहमति गर्दै सत्ता गठबन्धन बनाए । ठीक त्यसरी नै अहिले प्रचण्डलाई बोलाएर टीआरसी अघि बढाउने ललिपप देखाएका ओलीले राति कुलमान हटाएर ओलीकै प्रिय पात्र हितेन्द्रदेवलाई नियुक्त गरे । यसपछि ओलीसँग थप झस्किएका प्रचण्डले गत असारकै नियति सम्झँदै ओलीले पुनः आफूमाथि झेल गरेको बताएका हुन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसदमा आएर कुलमानलाई हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नदिने बताए । उनले प्रधानमन्त्री ओलीले टीआरसीसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए । केही दिन पर्खिएको भए पनि हुने भन्दै उनले ओलीप्रति आफू अत्यन्त दुःखित भएको र गत असारकै स्वर्ग र नर्क सँगै जाने कथा सम्झिएको बताए ।
ओलीको धुर्त चाल बुझेर पनि बेलाबेला प्रचण्ड उनको ललिपपमा पर्ने गरेका छन् । यसपालि पनि टीआरसीसँग कुलमान साट्यो भन्ने भ्रम फैलाउनेगरी ओलीले खेलेको खेलप्रति उनी चकित देखिए । कुलमान हटाउने निर्णयको सडक, सामाजिक सञ्जालदेखि सदनसम्म विरोध चर्किए पनि प्रधानमन्त्री ओलीले त्यसलाई सामान्य रुपमा लिएका छन् । प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडानमा माओवादीसहित रास्वपाले पनि संसद अवरोध जारी राखेपछि बुधबार दुवै सदनका बैठक चल्न सकेनन् । चित्तबुझ्दो जवाफ नपाएसम्म संसदमा अवरोध जारी राख्ने विपक्षी सांसदहरुको रणनीति छ । तर ओलीले भने जवाफ दिइरहन जरुरी नभएको प्रतिक्रिया बुधाबारै दिइसकेका छन् ।