
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् ।
बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी दलले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् ।
बैठकमा शुरुमा उठेर माओवादी केन्द्रका सांसदहरुले बिरोध जनाएपछि माओवादीका सांसद गोपीबहादुर सार्कीले कुलमानलाई केही समय मात्र बाँकी रहँदा किन हटाउनुपरेको हो ? भन्दै प्रश्न गरे ।
उनले कुलमान घिसिङले नै लोडसेडिङ अन्त्य गराएको दाबी गर्दै उज्यालो नेपालका नायक रहेकाे बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने उनले बताए ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलवार नै पदभार ग्रहण गरिसकेका छन् ।
२०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुिक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।
माओवादी केन्द्रको बिरोधसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरे । यसअघि प्रतिनिधि सभा बैठकमा पनि विपक्षीले साेही विषयमा अवराेध गरेपछि ३० मिनेटका लागि बैठक स्थगित गरिएकाे थियाे ।