News 24 Television
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले आफ्नो भनाइलाई बङ्ग्याएर राजावादीको पक्षमा उभ्याइएको भन्दै आपत्ति जनाएका छन् । महासचिव वैद्यले पाँच वर्ष अगाडि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे आफूले बोलेको विषयलाई बङ्ग्याएर फरक अर्थ लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।  

विज्ञप्तिमा उनले भनेका छन् – ‘दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्यले वर्तमान परिस्थितिमा राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यकता औल्याएका छन् भनी गरिएको गलत प्रचारबाजी प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।’

पछिल्लो समय मुलुकमा राजतन्त्रवादी पक्षधरहरुले गणतन्त्रको विकल्प खोज्दै राजसंस्थाको वकालत गर्दै राजा ल्याउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । यो अवस्थामा विभिन्न राजनीतिक दलहरुबाट समेत विभिन्न धारणा आइरहेका छन् । यहीबीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पनि आफूलाई राजसंस्थाको विपक्षमा उभ्याएको हो । नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र संसदवादी पार्टीहरु असफल भएपछि जनताले त्यसको विकल्प खोजेको तर प्रतिगामी शक्तिहरुले राजतन्त्रलाई अगाडि सारेर जनतालाई दिग्भ्रमित गर्न कोशिस गरिरहेको आरोप क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आरोप छ ।

वैद्यले विज्ञप्तिमार्फत थप भनेका छन् – ‘म के स्पष्ट गर्न चाहन्छु भने इतिहास सधैं अगाडि बढ्छ, कहिल्यै पछाडि फर्किंदैन । प्रतिगामीहरुको यसप्रकारको निकृष्ट कदमको म विरोध गर्दछु । वर्तमान सङ्कटको विकल्प प्रतिगमन होइन, अग्रगमन हो; राजतन्त्र होइन, लोकतान्त्रिक गणतन्त्रमा सुधार पनि होइन; आमूल परिवर्तन अर्थात्सङ्घीय जनगणतन्त्रको स्थापना हो ।’

विज्ञप्ति

baidhya-1742969540.JPG
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update