News 24 Television
वितृष्णा थप्दै कांग्रेस एमाले : जनताको नजरमा ओली प्रचण्डको चित्र

काठमाडौं । सरकारमाथिका प्रश्नहरु पेचिला बन्न थालेका छन् । सरकारले विषम परिस्थितिकाबीच अनेक निर्णय गर्ने र जनभावनाको सम्बोधनमा ध्यान नदिदा असन्तुष्टी चुलिएको छ । तर, सरकार भने प्रतिपक्षी रचनात्मक नभएकोदेखि गलत भाष्य निर्माणमा लागिपरेको आरोपमा उत्रिएको छ । 

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण गर्दैगर्दा धेरैले संसद प्रतिपक्षीबिहीन बन्ने त होइन भन्ने चिन्ता देखाएका थिए । यसको कारण थियो, ३२ सिटको माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैसियतमा हुनु ।

माओवादी केन्द्रको संसदीय अंकगणित र उनीहरुले गर्ने कार्यसम्पादनमा देखिएका समस्यालाई ठूलो समस्याको रुपमा लिने स्थिति बनेको थियो । तर, अहिले दुई तिहाईको बलशाली सरकार प्रतिपक्षीबाट थाकेको छ ।

सरकारले राम्रो गर्दा गर्दै प्रतिपक्षीले सबै बिगारेको भन्न थालेको छ । प्रधानमन्त्री केपी ओलीले आफू बच्न प्रतिपक्षीले सरकारको बदनाम गर्न थालेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओलीले किन यस्तो आक्षेप लगाए ? के प्रतिपक्षीले सरकारमाथि अनेक बदनामका श्रृङ्खला नै चलाएको हो ? यसका अनेक आयामबारे बहस छलफल शुरु भएको छ । उसोतः प्रतिपक्षी दलहरुले सरकार निर्माण नै भ्रष्टाचारको संरक्षण र कुशासनतर्फ देशलाई लैजाने षडयन्त्रको रुपमा भएको आरोप लगाउने भने गरेका छन् । 

यी प्रतिनिधि आवाज हुन् । प्रायः दलहरुले सरकारमाथिका प्रश्नलाई पेचिलो बनाएकै छन् ।सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले पनि सरकारको गति सही दिशातर्फ नहिडेको आरोप खुलेआम लगाउने गरेका छन् । 

सरकारमाथिका आरोप र सुशासन

सरकारमाथिका प्रश्नहरु विभिन्न ढंगले उठेका छन् । गणतन्त्रमाथिको प्रश्न पेचिलो बनिरहेको बेला सरकारले चालेका कदममा नागरिक आक्रोश चुलिएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षीमाथि आरोप जति लगाइरहेका छन, त्यसमा उनको साथ दिने स्थिति जनस्तरमा देखिन्न । 

सरकार अलोकप्रियताको ग्राफमा उकालो यात्रा तय गर्नमै केन्द्रित भएको देखिन्छ । कांग्रेसकै नेताहरुले सरकारको कदमप्रति कडा प्रश्न र टिप्पणी गरेका छन् । भने सरकारका अहिलेका कदमबाट गणतन्त्र खतरामा पर्ने चर्चा समेत शुरु भएको छ । 

सुशासनको पक्षमा सरकारले देखाएका रवैया र नेता कार्यकर्तामाथिका आरोपमा राज्य शक्तिको दुरुपयोगका घटनाले पनि सरकार रक्षात्मक बन्दै गएको छ । संख्याका हिसाबले सरकारसँग दुई तिहाई बहुमत भएपनि जनस्तरमा सरकारको आलोचना चुलिएको छ । सामान्यतया सत्तारुढ दलका नेतादेखि सरकारी अधिकारीहरुले दिने सकारात्मक सन्देशमा समेत आक्रोश भेटिने गरेको छ । नागरिकले तुच्छ टिप्पणी गर्नेदेखि नेता लल्कार्ने परिस्थिति नै सिर्जना भएको छ । 

सरकारबारे सर्वसाधारण

सरकारले अहिलेको स्थिति सिर्जना हुनुमा प्रतिपक्षीलाई आरोपित गर्न थालेको छ । संसदमा कमजोर देखिएको प्रतिपक्षीमाथि प्रधानमन्त्री केपी ओलीले लगाएको आरोप कति सत्य ? जनताले प्रधानमन्त्रीको आरोपलाई स्वीकार गर्ने स्थिति छ ? तमाम प्रश्नकाबीच हामीले देशका विभिन्न क्षेत्रका सर्वसाधारणलाई ’सरकारको बदनाम गर्न प्रतिपक्षीहरु लागे । 

रचनात्मक भएनन भनेर प्रधानमन्त्री केपी ओलीले भन्नुभएको छ । के सरकार सही बाटोमा हुँदाहुँदै प्रतिपक्षी दल र नेताहरुले अनेक आरोप लगाउन थालेका हुन् ?’ भनेर सोधेका छौं । अब हेरौं उनीहरुको भनाई जस्ताको त्यस्तै ।

शासक र प्रणालीमाथिका प्रश्न

नेपालले हरेक दशकमा कुनै न कुनै आन्दोलन व्यहोर्ने गरेको छ । २०७२ को संविधान घोषणापश्चात समेत मधेस आन्दोलनदेखि अहिले गणतन्त्रविरोधि आवाजको सामना गर्ने स्थिति बनेको छ । नेपाली जनताहरुले किन यस्ता आन्दोलन र प्रदर्शनमा रुची देखाइरहेका छन् ? यो रोचक कुरा छ । 

प्रजातन्त्रको पक्षमा लागेका नारादेखि स्वतन्त्रताका आन्दोलनपछि फेरि नागरिक निरंकुश बन्नसक्ने सम्भावना बोकेको राजसंस्थाको पक्षमा खुल्न थालेका छन् । यसले के संकेत गर्दैछ भने नेपालीहरुमा विद्रोही चेत पूर्णरुपमा विकास भएको छ तर, विद्रोहपछिको समाधानको उपायमा खासियत भेटिन्न । 

समस्या समधानमा नेतृत्व चुक्ने, भ्रष्टाचारमा रम्ने, सुशासनको सवालमा चुक्नेदेखि जनतालाई मतदाताको रुपमा मात्रै लिने प्रवृति मौलाएका कारण पनि समस्या जगडिन पुगेको छ । यस्ता प्रश्नको समाधान राजनीतिक समझदारी र पारदर्शीताबाहेकमा भेटिएला ? यो जनताले नेतालाई सोध्ने प्रश्न बनेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update