News 24 Television
ओली धरमराउँदा देउवाको साथ, अभिव्यक्तिमा मनोवैज्ञानिक त्रास छरपष्ट !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले कुलमानको पक्षमा आवाज उठाउनेमाथि निर्मम प्रहार गर्दै यस्तो विषयबाट केहि नहुने भनेका छन् । के ओलीले ताकेको निशाना कांग्रेस नेताहरुलाई पनि लाग्ला ? 

सत्ता र प्रतिपक्षी दलबीचका मतभेद सत्तासँग जोडिएर हुने विषय स्वभाविक हो । नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि सडकमा प्रदर्शन भइरहेको छ । 

सडकमा भइरहेका प्रदर्शन सरकारविरुद्धका मात्रै नभई सिंगो प्रणालीमाथि समेत केन्द्रित हुने त होइनन् भन्ने चिन्ता समेत देखिन्छ । यस्तोमा प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी दलमाथि मात्रै नभई कुलमानको पक्षमा उभिनेहरुका विरुद्धमा निशाना साँधेका छन् । कुलमान रिटायर्ड भइसकेको भन्दै ओलीले उनलाई ल्याउने विषयमा नै विमति राखेका छन् । 

ओलीले कुलमानले लोडसेडिङ हटाएको विषयमा समेत आपत्ति जनाएका छन् । जादुको छडी वा एक्लैले नहुने कुरा भन्दै आक्रोश पोखेका ओलीले अहिले सरकारिरुद्ध चलिरहेका विरोध प्रदर्शनका कार्यक्रमलाई इस्यु पाएको अर्थमा लिएका छन् । सरकारविरुद्ध इस्यु पाइयो भन्दै केहि सडकमा उफ्रिको ओलीको जिकिर छ । 

ओलीले यस्तो जिकिर प्रतिपक्षी दलका नेता प्रचण्ड र माओवादी केन्द्रसहित विरोधमा रहेका अन्य दलमाथि मात्रै साँधे वा विरोध जनाउने कांग्रेस नेताहरुमाथि पनि ? यो विषयको लेखाजोखा कांग्रेसभित्र हुने स्थिति बन्ने देखिन्छ । 

कांग्रेसमा क–कसको विरोध ?

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले कुलमानलाई हटाएको विषयमा सार्वजनिक विरोध गरेका छन् । कांग्रेसमा अन्य नेताहरुमा डा. शेखर कोइरालाले पनि चर्को विरोध गरेका छन् । यसरी शीर्ष तहबाटै भएको विरोधको अर्थ कति जायज ? कुलमानले उज्यालो नेपाल बनाउन भूमिका खेलेको विषय गलत हो त ? यस्ता तमाम प्रश्नहरु सतहमा छन् । तर, ओलीले विरोध गर्नेलाई दिएको चोटिलो प्रहारले कांग्रेस नेतालाई प्रभाव पार्ला ? टिकाटिप्पणी भने हुन थालेको छ ।

चितवनमा पनि रोचक दृश्य

नेपाल विद्युत प्राधिकरणको भरतपुरस्थित वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी ओलीविरुद्ध आपत्तिजनक नारा डिस्प्ले भयो । यस्तो स्थितिपछि एमाले निकट युवा संघका कार्यकर्ताले कार्यालय तोडफोडदेखि हातपातमै उत्रिए । प्राधिकणले निकालेको वक्तव्यमा डिजिटल बोर्ड ह्याक भएको भनिएको छ । 

मंगलवार बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आई कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको वितरण केन्द्रले जनाएको छ ।

भीडले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात नै गरेको छ । वितरण केन्द्रले आक्रमणकारीमाथि कानूनबमोजिम हदैसम्मको सजायको व्यवस्थाको माग गरेको छ भने कुलमानको पक्षमा देशभर विरोध प्रदर्शन शुरु भएको छ ।

देउवाको बलियो साथ

सरकारका कदममा अनेक प्रश्न उठेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्री केपी ओली गोलघर भित्रदेखिको साथी भन्दै भरपुर साथ रहने भनेका छन् । 
देउवाले प्रतिबद्ध भएर साथ दिने वचन दिएपनि ओलीले भने सरकारको समिकरण र सत्ता साझेदारी नै भुलिदिए । देउवालाई सम्बोधनको क्रममा ओलीले प्रतिपक्षी दलको नेता समेत भन्न भ्याए । तर, लगत्तै आफुलाई सच्याएर सत्तामा संगै पो छौं त भनिदिए ।

देउवाले निर्धक्क साथ दिने दाबी गरिरहेको बेला ओलीले प्रतिपक्षी र सडकमा देखिएकालाई तह लगाउने नाममा कांग्रेसभित्रको विरोधी स्वरलाई समेत उचाल्ने स्थिति बन्दै गएको छ भने मनोवैज्ञानिक रुपमा समेत ओली ह्यारेसमेन्टमा परेको देखिन्छ । 

सत्ता साझेदार दलको प्रमुख नेतालाई समेत तथ्यगत त्रुटी देखिने गरि सत्तामा भएपनि प्रतिपक्षी हो भन्ने सन्देश दिने गरि दिएको अभिव्यक्तिले पनि प्रधानमन्त्री ओलीले निकै ठूलो मनोवैज्ञानिक त्रासको सामना गरिरहेको बुझ्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update