News 24 Television
अब पोखरा र भरतपुरको बिजुली पुरै अण्डरग्राउण्ड, सहर झन सुन्दर बन्ने 

कास्की । नेपाल विद्युत प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने काम अगाडी बढेको छ । पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलदेखी लेकसाईडसम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउण्डको काम अगाडि बढेको हो । 

पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका बितरण प्रणाली सुदृढिकरण आयोजना अन्र्तगत बिद्युतीय तार भुमिगत गर्ने काम भइरहेको छ । पोखरामा अहिलेसम्म ५५ प्रतिशत काम भएको छ भने भरतपुरमा ८० प्रतिशत काम सम्पन्न भएको छ ।

मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने काम भइरहेको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ । अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्ने छ । पोखराको अन्तर्राष्ट्रिय बिमानस्थलको १ सय मिटर पुर्वबाट शुरु भएर न्युरोडको दायाँबायाँ, रत्नचोक र लेकसाईडको सबै क्षेत्रमा पूग्ने छ । 

विद्युत् लाइन जमिनमुनि विछ्याउँदा अव्यवस्थित तार, पोलबाट मुक्ति पाउदा पोखरा अझ सुन्दर देखीने नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुबेदी बताउँछन् । पोखराको काममा चट्ट्टानहरु धेरै आएका कारण अन्डरग्राउन्डको काममा ढिलो भएको सुबेदीको भनाइ छ ।

पोखरामा अहिले सम्म ४ सय भन्दा बढि घरमा अण्डरग्राण्डको लाइनबाट बिजुली जोडि सकिएको छ । तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटना समेत न्यूनीकरण हुने प्राधिकरणका भनाई छ । 

तारलाई अन्डरग्राउण्ड गरी सकेपछि पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तार जमिनमुनि हुनेछन् । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो मानिन्छ । पोखरामा १ अर्ब तीस करोड रुपैया लागतमा निर्माण सम्झौता भएको यो आयोजनाको निर्माण कार्य भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्स् लिमिटेडले लिएको छ । भरतपुर सहितको तार विछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का लगाइएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update