News 24 Television
योग्य व्यक्तिलाई हटाएर ओली सरकार भ्रष्टहरूको संरक्षणमा लाग्यो : बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान केपी ओली नेतृत्वको सरकारले योग्य व्यक्तिलाई तिरस्कार गर्दै आफ्नो स्वार्थ अनुसार निर्णय गर्न उद्यत रहेको बताएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेका बेला डा. भट्टराईले पनि सरकारको कार्यशैलीप्रति विरोध जनाएका छन् । उनले नेपाललाई ऊर्जा संकटबाट मुक्त गर्ने अभियन्ता घिसिङलाई हटाउने निर्णय एउटा योजनाबद्ध षड्यन्त्र रहेको बताएका छन् ।

‘केपी ओली नेतृत्वको सरकार बारम्बार योग्य व्यक्तिहरूलाई तिरस्कार गर्दै आफ्नो स्वार्थअनुसार नेतृत्व परिर्वतन गर्न उद्यत रहेको छ,’ डा. भट्टराईले भनेका छन्, ‘नेपालमा दशकौंसम्म लोडसेडिङको अँध्यारो थियो । १८ घण्टासम्मको बिजुली कटौती नेपाली जनताको नियति बनेको थियो । कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले यो समस्यालाई केवल केही महिनामै समाधान गर्‍यो ।’

तर नेपालमा राम्रो गर्नेलाई टिक्न नदिने प्रवृत्ति रहेको भन्दै उनले ओली सरकारको विशेषता समेत व्यक्तिगत रिसइवीका आधारमा निर्णय गर्नु रहेको बताएका छन् । ‘ओलीको राजनीति व्यक्तिगत सत्ता जोगाउन, संस्थाहरू कब्जा गर्न, र आफ्ना निकट व्यक्तिहरूलाई राज्यका महत्वपूर्ण पदमा राख्न केन्द्रित रहँदै आएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

कुलमान घिसिङ कुनै पनि राजनीतिक दलको कार्यकर्ता नरहेको र एक योग्य प्राविधिक तथा राष्ट्रसेवामा समर्पित व्यक्ति रहेको भट्टराईको भनाइ छ । उनले थप भनेका छन्, ‘ओली सरकारलाई ‘आफ्ना मानिस’ चाहिन्थ्यो, जसले नीति होइन, नेताको आदेश पालना गरोस् । यसैले, कुलमान घिसिङलाई हटाएर कुनै गुटका व्यक्तिलाई राख्ने षड्यन्त्र गरिएको भनि पनि स्पष्ट भयो । ओली नेतृत्वको सरकार यसअघि पनि यस्ता निर्णय गर्न पछाडि परेको छैन ।’

वाइड बडी, सेक्युरिटी प्रिन्टिङ प्रेस जस्ता ठूला काण्डमा भ्रष्टाचार लुकाउन बिनाकारण परिवर्तनहरू गर्ने र स्वच्छ छवि भएका अन्य व्यक्तिहरूलाई बर्खास्त गर्ने ओली सरकारको शैली नै रहेको भन्दै डा. भट्टराई यो लडाइँ कुलमानको मात्र नभएर सबै इमानदार, योग्य र मेहनती नागरिकको लडाइँ रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update