
काठमाडौँ । औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि उद्योगी–व्यवसायीहरु विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् । कुलमानले लोडसेडिङ आफूले हटाएको भनेर जनतामा भ्रम छरेको भन्दै यसअघि ऊर्जामन्त्री दीपक खड्काले भारतलाई जस दिएका थिए । उद्योगको लाइन काटेर जनताको घरमा बिजुली दिएर कुलमानले उद्योगहरुमा अहिले पनि १२ घण्टासम्म लोडसेडिङ भइरहेको संसदमै बताएका थिए । साथै उनले भारतबाट बिजुली आयात भएकाले लोडसेडिङ घटेको जिकिर गर्दै अब भारतले बिजुली दिने समय घटाएपछि नेपालमा लोडसेडिङ हुने बताएका थिए । यस अभिव्यक्तिले मन्त्री खड्का विवादमा समेत परे, किनभने उनले कुलमानको व्यवस्थापकीय सुधारको अवमूल्यन गर्दै धन्यवाद चाहिँ भारतलाई दिनुपर्ने बताए ।
गत बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य कुलमानले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे । कार्यकारी निर्देशक कुलमानले चाहिँ उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको खड्कको आरोप थियो ।
ऊर्जामन्त्रीकै भनाइलाई बल पुग्नेगरी उद्योगी–व्यवसायीहरु पनि कुलमानमाथि खनिएका छन् । आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरुमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको बताए । यसरी उद्योगहरुमा लोडसेडिङ गरेर विद्युत प्राधिकरणले लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाए । २४ सै घण्टा विद्युत आवश्यक पर्ने सिमेन्ट, स्टिल र धागो उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको उनीहरुको दाबी छ ।
विद्युत प्राधिकरणले दिउँसो विद्युत दिने गरेको भए पनि आधा समय मेसिनरी बन्द गर्न नमिल्ने उद्योगीहरुको जिकिर छ । यसरी दैनिक आधा समय मात्र चलाएका मेसिन–उपकरणहरु कवाडिमा परिणत हुने चिन्ता उद्योगीहरुको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले झुटको खेती गरिरहेको आरोप लगाए । उनले नेपालको अर्थतन्त्र अचेत अवस्थामा रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत निरन्तर ह्रास आइरहेको अवस्थामा समेत औद्योगिक क्षेत्रले पर्याप्त विद्युत नपाउनु दुःखद् भएको बताए । प्राधिकरणकै पदाधिकारीहरुले महंगोमा विद्युत किनेर उद्योग जोगाउन नसक्ने भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति समेत जनाए ।
अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले १२ घण्टासम्म लोडसेडिङ हुँदा उद्योहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । उनले लोडसेडिङकै कारण मासिक ९ हजार टन वस्तुको उत्पादन गर्ने क्षमता भएको कम्पनीले ३ हजार ७५० टन मात्रै उत्पादन गर्न सकेको जिकिर गरे । उनले उद्योगी व्यवसायीहरु लोडसेडिङकै कारणले प्रत्येक वस्तुमा १०÷१० रुपैयाँ मारमा रहेको दाबी गर्दै मागबमोजिम विद्युत दिन आग्रह गरे । चाहिएजति विद्युत अपूर्ति नभएकै कारणले वस्तुको मूल्य बढाउन बाध्य भएको समेत उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व–अध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले लोडसेडिङ अन्त्य गरी डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद पनि टुंग्याउनुपर्ने बताए । उनले लोडसेडिङको बायोप्रोडक्ट भएको हिसाबले वस्तुको मूल्यमा वृद्धि भएको दाबी गरे । उद्योगहरुको वस्तु उत्पादनको क्षमतामा ह्रास आइरहेको भन्दै मुरारकाले लोडसेडिङ अन्त्य आजको प्रमुख आवश्यकता रहेको बताए ।
विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका प्रकाशन गरी पूर्व–जानकारी दिनुपर्ने समेत उद्योगीहरुको भनाइ छ । बाहिर लोडसेडिङ छैन भन्ने तर अघोषित रुपमा उद्योगहरुमा बिजुली काट्ने प्राधिकरणको भूमिका विरुद्धमा डटेर लड्ने उनीहरु बताउँछन् । उता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने लोडसेडिङ हुन नसक्ने बताउँछन् । केही उद्योगहरुले विगतमा ट्रंक लाइन तथा डेडिकेटेड फिडरमार्फत उपभोग गरेको विद्युतको बक्यौता महसुल बुझाउन आनाकानी गरेपछि घिसिङले ती उद्योगहरुमा लाइन काटेर विद्युत ठप्प समेत गर्दै आएका छन् । तर बक्यौता नरहेका उद्योगले समेत अहिलेको सुख्खायाममा विद्युत अभाव खेपिरहेका छन् ।