
कास्की । १६ वर्षपछि यस पटक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ ।
२०६५ सालपछि विभिन्न खिचातानी र विवादले यस क्याम्पसमा निर्वाचन हुनै सकेको थिएन । पटक–पटक रोकिएको स्ववियु निर्वाचन यस शान्तिपूर्ण हुँदा विद्यार्थीहरुमा खुशी छाएको छ ।
१६ वर्षपछि बल्ल यस पटक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । वर्षौ पछि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुँदा विद्यार्थीमा यसले खुशी ल्याएको छ ।
२०७३ र २०७९ सालमा पनि विवादका कारण यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । २०७३ सालमा विद्यार्थी संगठनहरूबिच विवादका कारण र २०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन सकेन ।
यसरी विद्यार्थीको हक हितका लागि काम गर्ने विद्यार्थीको साझा संगठन स्ववियुको निर्वाचन १६ वर्ष वितिसक्दा पनि हुन नसक्नु विद्यार्थी संगठनमा राजनीतिक चलखेल भएको आरोप धेरैको थियो । तर सधै विवादमा रुमलिएको स्ववियुको निर्वाचन यस पटक भने सम्पन्न भएको छ ।
यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसके पनि अन्ततः आईतबार निर्वाचन सम्पन्न हुँदा विद्यार्थीमा थप उत्साह भने ल्याएको छ ।
अहिलेसम्म यो क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाहेक अरूले जित्न सकेको छैन । अनेरास्ववियु आफ्नो विरासत जोगाउने होडमा छ भने अन्य संगठन र स्वतन्त्र उम्मेदवार अनेरास्ववियुको विरासत भत्काउने रणनीतिमा छन् ।
यसपटक पनि विभिन्न विरोध र विवादका कारण निर्वाचन नै अन्योलमा रहने धेरैले आँकलन गरेका थिए । तर सबैको साथ र क्यम्पस पढ्ने विद्यार्थीले सहजतपूर्ण वातावरण सिर्जना गरेकाले स्ववियु निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेल बताउँछन् ।
यो क्याम्पसबाट यसअघि स्ववियु सभापति भएका एमाले नेता सोमनाथ प्यासी प्रदेश प्रमुख भइसकेका छन् भने पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी, पूर्वमन्त्री पदम गिरी, पोखराका मेयर धनराज आचार्य, नेता राजीव पहारी, राजनीतिक विश्लेषक झलक सुवेदीलगायत यहीँका स्ववियु सभापति हुन् ।
अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु सभापति भए । त्यसपछि भने विवादका कारण चुनाव भएको थिएन । विद्यार्थीहरुको तथा क्याम्पसको हक हितका लागि नियमित स्ववियु निर्वाचन हुनुपर्ने र यसले मुलुककै सक्षम र सबल नेतृत्व उत्पादन गर्न भूमिका खेल्ने पूर्व सभापति राजिब पहारी बताउँछन् ।
पृथ्वीनारायण क्याम्पसमा भएको यसपटकको स्ववियु निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्य समूहको संयुक्त प्यानल र स्वतन्त्र तर्फबाट विद्यार्थीहरु निर्वाचनमा उठेका छन् । लामो समयपछि भएको स्ववियुको निर्वाचनले विद्यार्थीमा केही आशा पलाएको छ, तर स्ववियु निर्वाचनबाट निर्वाचितहरु राजनीतिक दलगत स्वार्थ छोडेर विद्यार्थी र क्याम्पसको हक हितका लागि काम गर्नुपर्ने देखिएको छ ।