News 24 Television
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ  

कास्की । पर्यटकीय राजधानी पोखरामै भएर पनि ओझेलमा थियो, बेगनास ताल अनि चर्चामा थिएनन् वरिपरिका क्षेत्र । तर, अहिले बेगनास तालले आफ्नो रुपरंगै बदलेको छ ।

ओझेलमा परेको बेगनास अहिले आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइ बन्ने गरेको  छ । अनि घुमान्तेका लागि गन्तव्य बनेका छन्, बेगनास वरिपरिका क्षेत्र । 

पोखरामा घुम्ने कहाँ ?– लेकसाइड क्षेत्र । यो अहिलेको कुरा होइन । अहिले पर्यटकको रोजाइ फेरिएको छ । पोखरामा घुम्ने ठाउँ लेकसाइड बाहिर अझै धेरै शान्त, मनोरम अनि आनन्दता प्रदान गर्ने ठाउँ छन् भन्ने पर्यटकले बुझिरहेका छन् ।

लेकसाइडसँगै अहिले  आन्तरिक हुन् या बाह्य पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ, बेगनास ताल अनि बेगनास पारिको माझिकुना । पोखरा महानगर पालिका वडा नं ३१ मा रहेको माझिकुना जलारी समुदायको बासस्थान हो । 

केहि बर्ष अघिसम्म झाडिले झाङगियको यो स्थान अहिले उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । शहरबाट नजिकै अनि प्रकृतिसँग रमाउन पाइने भएकाले माझिकुना पहिलो रोजाइ भएको आन्तरिक पर्यटक बताउछन् ।

पछिल्लो समय कोलाहल र भिडभाड भन्दा शान्त बातावरण पर्यटकको छनोटमा पर्ने भएकाले पनि यस्ता स्थानमा पर्यटकको चहलपल बढ्दो छ । 

माझिकुनामा एक दर्जन बढी होटल तथा रेष्टुरेन्ट खोलिसकेका छन् । दैनिक करिब ३०० पर्यटक माझिकुना पुग्छन् भने शुक्रवार र शनिवार थेग्न नसकिने पर्यटक आउने ब्यबसायीको अनुभव छ । लेकसाइडबाट १ घण्टामा र पृथ्बी राजमार्गको ताल चोकबाट २० मिनेटमा बेगनासको माझिकुना पुग्न सकिन्छ । 

अहिले सम्म स्थानियकै पहलमा पर्यटकिय गतिविधी भएपनि अबभने स्थानिय सरकार र पर्यटन सम्बन्धी संस्थाले प्रबर्दन र ब्यबस्थित अनि दिगो पर्यटनको लागि पहल गर्नुपर्ने फिसरमेन रेष्टुरेन्टका सञ्चालक मनोज जलारी बताउछन् ।

बेगनासताल वरिपरि ९० परिवार जलारिको छ । ति मध्य ५० परिवारले पुरानो पेशा छोडी पर्यटन ब्यबसायमा हात हालेका छन् । फेवा तालको दाँजोमा बेगनास ताल सफा छ । ताल पुरिने अवस्था छैन । जलकुम्भीको असर र ताल अतिक्रमण पनि छैन । 

त्यसैले हाल सम्म स्थानीयले जोगाएको बेगनास ताललाई थप ब्यबस्थित र सौन्दर्यकरण गरी पर्यटकीय गतिविधी बढाउन सम्बन्धित  सबै निकायको र निजि क्षेत्रको ध्यान जान जरुरी छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update