
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रमक पेश भएका छन् । देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न सुझाव नै दिए । ज्ञानेन्द्रले आफुमाथि विगतमा गरेको अपमानको गुण देउवाले यसरी नै दिन खोजेको चर्चा चल्न थालेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बन्दै जाँदा केही दिन चुप बसेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले भनि आक्रामक रुपमा प्रस्तुत भएका छन् । पूर्वराजाप्रति देउवाको आक्रामकतापछाडी उनको विगत जोडिएको छ ।
देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बने । तत्कालीन समयमा राजा थिए, वीरेन्द्र । वीरेन्द्रको पालादेखि प्रधानमन्त्रीको कुर्सीमा उक्लिएका देउवा फेरि अहिले प्रधानमन्त्री पदको पर्खाईमा छन् । कांग्रेस–एमाले सहमति टिकिरहे केहि महिना र देउवाले चाहेको खण्डमा तत्कालै प्रधानमन्त्री बन्न देउवालाई केहि कुराले छेक्न सक्ने स्थिति छैन् ।
कांग्रेस फुटाएर होस वा एकतामा आएर होस, देउवाले आफूलाई स्थापित गर्न हदैसम्मको राजनीतिक कर्ममा लाग्ने गरेको दृष्टान्त लुकेका छैनन् । दुई कार्यकाल कांग्रेस सभापति बनेपछि अब देउवा अर्को पटक सभापति बन्न नपाउने कांग्रेसको विधानमा व्यवस्था छ ।
यस्तोमा कांग्रेसको सभापति बन्ने समय देउवाका लागि सायद यो नै अन्तिम हो र, यही समयमा उनी प्रधानमन्त्री पनि बन्ने छन् ।
देउवाको पार्टीगत राजनीति यसरी चलिरहेको परिवेशमा पूर्वराजा ज्ञानेन्द्र शाहको सत्तामोह पलाएको छ । ज्ञानेन्द्रले अहिलेको शासन प्रणालीमाथि प्रश्न मात्रै गरिरहेका छैनन्, देशमा शान्ति आवश्यक रहेको समेत भनिरहेका छन् ।
पूर्वराजा शाहले यस्तो जिकिर गरेपनि देउवा गणतन्त्रको विकल्प राजतन्त्र नहुने जिकिरमा सधैं अडिग देखिन्छन् ।
राजतन्त्र वा राजसंस्था आउन नसक्ने भन्ने गरेका देउवा यस पहिले सामान्यरुपमा नै प्रतिक्रिया दिने गर्थे । तर, अहिले देउवा आक्रामक रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध पेश हुन थालेका छन् । देउवाले भन्न थालेका छन्, ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाको सभापति बने हुन्छ । तर, राप्रपाले पनि दुख पाउँछ ।
देउवाले ज्ञानेन्द्रलाई राजा बन्न लायक नभएको व्यक्ति किन भने ? देउवाले राजसंस्था नचाहेर वा ज्ञानेन्द्रमाथिको पुरानो रिसिबीका कारण ? सतहमा आएका विभिन्न चर्चा अब फेरि सार्वजनिक चासोको विषय बन्न पुगेका छन् ।
देउवा–ज्ञानेन्द्र सम्बन्ध
२०५८ साल जेठ १९ गते दरबार हत्याप्रकरणपछि ज्ञानेन्द्र शाहले राजा बन्ने अवसर पाए । महेन्द्रका माइला छोरा ज्ञानेन्द्र बाल अवस्थामै पहिले पनि एकपटक राजा भइसकेका थिए । त्रिभुवनले भारतको शरण लिएपछि केहि समय राजा बन्ने अवसर पाएका ज्ञानेन्द्रले युवा अवस्था पुनः राजा बन्ने मौका पाए ।
उनका दाजु वीरेन्द्रको वंशनाश पछि उनी फेरि राजा बन्न पुगे । ज्ञानेन्द्र राजा बनेपछि २०५८ साउनमा देउवा फेरि प्रधानमन्त्री बने । देशमा माओवादी युद्ध चर्किएको थियो । माओवादी युद्धकैबीचमा देउवाले संसद विघटन गर्दै चुनावको घोषणा गरे ।
संसद विघटनमा पनि ज्ञानेन्द्रको आज्ञा पालना गरेको कुरा लुकेको छैन् । माओवादी युद्धकाबीच चुनाव हुने स्थिति थिएन् । देउवाले चुनाव गर्न सकेनन् । यहि मौका छोपेर ज्ञानेन्द्रले देउवालाई अक्षम भन्दै २०५९ असोज १८ मा सत्ता हातमा लिए ।
देउवा अक्षम घोषित भए । यतिमै नरोकिएका ज्ञानेन्द्रले फेरि देउवालाई २०६१ मा प्रधानमन्त्री नियुक्त गरे । देउवाले फेरि ज्ञानेन्द्रको विश्वास गरे । तर, देउवाको विश्वास लामो समय टिक्न सकेन् ।
देउवालाई फेरि ज्ञानेन्द्रले ०६१ माघ १९ को शाही कु मार्फत हटाए र पूर्णशासन सत्ता हातमा लिए । त्यसपछि ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरुलाई छानीछानी नजरबन्दमा राख्न थाले । यहिक्रममा देउवा पनि २०६१ फागुनमा पक्राउ परे र १८ महिना जेलमा रहन पुगे । देउवामाथि तत्कालीन समयमा ज्ञानेन्द्रले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । यो सबै काम शाही आयोगमार्फत भएको थियो । तर, सर्वोच्च अदालतले देउवालाई २०६२ फागुन १ मा रिहा गर्न आदेश दियो ।
त्यसपछि देउवा र ज्ञानेन्द्रको सम्बन्ध खास बन्नै सकेन् । उनीहरुको सम्बन्ध औपचारिक रुपमा कहिले ठिकै चल्ने कहिले संघर्ष हुने भएपनि जेल नै हालेपछि भने नराम्ररी बिग्रिन पुगेको देखिन्छ । विश्वासघात, शक्ति संघर्ष र मतभेदका कारण उनीहरुको सम्बन्धमा देखिएको दरारमा ज्ञानेन्द्र सर्वसाधारण जनताको स्थितिमा आइपुगेपनि देउवा फेरि प्रधानमन्त्रीको लाइनमा छन् ।
देउवालाई जुरेको संयोग
दुई–दुई पटक धोका पाएका देउवा गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने लाइनमा छन् । देउवाले चाहेको खण्डमा तत्काल प्रधानमन्त्री बन्ने बाटो खुला देखिन्छ ।
कांग्रेस–एमाले गठबन्धन भत्काउन प्रतिपक्षी दलहरु सक्रिय रहेको बेला एमालेलाई छोड्दा मात्रै पनि देउवा सहजै प्रधानमन्त्री बन्न सक्छन् । तर, मिठो संयोग के जुरेको छ भने देउवाको सक्रिय राजनीति अहिले अन्तिम इनिङमा चलिरहेको छ ।
ज्ञानेन्द्रले राजाको रुपमा अन्तिम इनिङमा देउवालाई जेल नै पठाएको स्थिति र देउवा कांग्रेसको राजनीतिदेखि प्रधानमन्त्री बन्ने सम्भावनाको अन्तिम इनिङमा रहेका बेला ज्ञानेन्द्र शाहले अर्थपूर्ण सक्रियता देखाएका छन् ।
के देउवाले ज्ञानेन्द्रमाथि आफूमाथि गरिएको अपमान, गैरराजनीतिक काम र प्रतिशोधपुर्ण व्यवहारको बदला लिने काम गर्लान् ? अहिले देउवाले ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न सुझाव दिदै राजा बन्न लायक मान्छे नभएको भन्दै गर्दा यो विषयको चासो चौतर्फी देखिन्छ ।