News 24 Television
छाउगोठ कम भए, सुधार अझै आवश्यक  

सुर्खेत । नेपालको पश्चिमी क्षेत्रतिर व्याप्त छाउपडी प्रथा समयक्रमसँगै कम हुँदै गएको   छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केहीवर्ष पहिलेसम्म छाउपडी प्रथा चरम थियो । तर, अहिले महिनावारी भएका समय सुरक्षितवासतर्फ ध्यान दिन थालिएको छ । यद्दपी, कुप्रथा उन्मुलनका लागि गर्नुपर्ने काम अझै धेरै नै छन् ।  

यो, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका क्षेत्र हो । केही वर्ष पहिले यि क्षेत्रहरुमा प्राय सबैघरमा छाउगोठ देखिने गर्दथे । तर, अहिले छाउ गोठ विरलै देखिन्छन् । 

महिनावारी भएका समय मुल घरभित्र प्रवेश गर्न नहुने अन्धविश्वासकै कारण छुट्टै छाप्रो बनाउने र त्यहाँ महिनावारी भएकाहरु बस्ने ठाउँ नै छाउगोठ हो । अहिले छाउगोठमा बस्नेहरु कमै छन् । घरैपिच्छे देखिने छाउगोठ पनि छैनन् । 

समयक्रमसँगै छाउपडी प्रथा  कम हुँदै गएपछि समाजमा यो सुधार देखिएको हो । यद्दपी, सुधारका काम अझै धेरै छन् । २०७० पछि विभिन्न समयमा प्रहरी प्रशासन, स्थानीय निकाय र गैह्रसरकारी संस्थाहरुको सक्रियातमा अभियानकै रुपमा छाउ गोठ भत्काइएको थियो । तरपनि, यो प्रथा पूर्ण हटेको भने छैन । महिनावारी हुँदा अलग्गै राख्ने प्रचलन कायमै छ ।

सामाजिक समस्याका रुपमा रहेको छाउपडी र बालविवाह रोकथामका लागि स्थानीय सरकारहरुले विभिन्न संघ संस्था, आमा समूह, महिला सञ्जाल, क्लबहरु मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसले गर्दा मर्यादित महिनावारी प्रवद्र्धनमा सहयोग भने पुगेको छ ।

महिनावारी भएका समय मुल घरभित्रै बसे अनि जथाभावि छोए कुलदेवता रिसाउनेदेखि घरमा अनिष्ट हुने लगायतका अन्धविश्वासकै कारण छाउपडी प्रथा पश्चिम नेपालमा व्याप्त थियो । 

अहिले पनि समाजमा गन्नेमान्ने मानिने नाईके, पुरोहित र धामी–झाँक्रिहरुले यसका पक्षमा यस्तै अन्धविश्वासको वकालत भने गर्छन् नै । तर, पूर्विय दर्शनको सवैभन्दा महत्वपुर्ण ग्रन्थ चार वेदमा महिनावारीलाई अशुद्धताको रुपमा कतै लिएको पाइदैन । यद्दपी, स्थानीय सरकारदेखि युवाहरुले यो कुप्रथा हटाउने प्रयास जारी राखेका छन् । 

पछिल्लो समय त केही स्थानीय धामीझाँक्रीहरु नै महिनावारीबारे अन्धविश्वास हटाउन सहयोगी बनेका छन् । 

छाउपडी र बालविवाह रोकथामलाई अझै प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम बनाउने प्रतिबद्धता अनुसार जनप्रतिनिधिहरुले पनि कदम चालिरहेका  छन् । 

छाउपडी मुक्त गर्ने नाममा गाउँगाउँमा छाउगोठ त भत्किए तर छाउपडी सम्बन्धीको अन्धविश्वासयुक्त मानसिकता भत्काउनका लागि स्थानीय सरकारले अझै ध्यान दिनुपर्ने देखिन्छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update