News 24 Television
सीके–रेशमको चाल अर्कै ! बाबुरामको विजोग यतिसम्म !

काठमाडौं । डा. बाबुराम भट्टराई । पूर्वप्रधानमन्त्रीदेखि माओवादी युद्धका एक कमाण्डर । उनी अहिले वैकल्पिक शक्ति निर्माणको बाटोमा लागेको दाबी गरिरहेका छन् । तर, कहिले कुन दल, त कहिले कुन दलको टेको समात्न खोज्दा बल्ड्याङ खाने र फर्किएर फेरि पार्टीलाई अघि लैजाने प्रण गर्छन् । बाबुराम किन यस्तो अवस्थामा पुगे त ? किन उनले भनिरहेको वैकल्पिक शक्तिको उभार आउन सकेन ? 

बाबुराम भट्टराईलाई धेरैले अन्तरमुखी स्वभावका नेता भन्छन् । भट्टराई छन् पनि त्यस्तै । आक्रामकता निकै कम देखिने अनि थोरै लजाजु स्वभावका जस्ता देखिने बाबुराम आफ्नै नेतृत्वको पार्टी सञ्चालनमा अन्तरमुखी स्वभावकै कारण असफलतातर्फ जाने गरेको तथ्य लुकेको छैन् । बाबुराम आफ्नो विज्ञता, क्षमता र सीपको प्रयोग गर्नबाट भने चुक्ने गरेका छन् । 

माओवादी, नयाँ शक्ति, जसपा, नेसपा हुँदै नेसपा नयाँ शक्ति बनेका बाबुराम अब फेरि खुट्टा उचालेर अर्को एकताका निम्ति तयार भएका हुन् त ? चर्चा र चासो राजनीतिक वृत्तमा शुरु भएको छ । माओवादी युद्धमा बाबुराम भट्टराईलाई अनेक उपमा, शक्ति र पहिचानले पुकार्ने काम गरिन्थ्यो । बाबुरामलाई पहिचान लुकाउन सक्ने नेतादेखि भयंकर वैज्ञानिक भनिन्थ्यो । जसकारण बाबुराम माओवादी युद्धभर आइकन नै थिए । 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा पनि बाबुरामले ठूलो भूमिका खेले । बाबुरामले खेलेको भूमिकाको प्रसंसा धेरैले गर्ने गरेका पनि छन् । शान्ति प्रक्रियापछि बाबुराम माओवादी कै शक्तिमा प्रधानमन्त्री पनि बने । 

प्रधानमन्त्री बनेपछि उनले गरेका केहि कामको चर्चा आज पनि हुन्छ । काठमाडौंको बाटो चौडा बनाएको श्रेय बाबुरामलाई जाने गर्छ भने अर्थमन्त्री हुँदा उनले लिएको नीतिको समेत चर्चा हुने गर्छ । त्यसपछि नेपालको संविधान बन्यो । 

बाबुरामको राजनीति भने उकालो लागेन् । बाबुरामले माओवादी नाम, वामपन्थी विचार र आदर्शबाट नेपाली समाजको विकास नहुने भन्दै नयाँ शक्ति निर्माण गरे । नयाँ शक्ति लामो समय चल्न सकेन् । 

नयाँ शक्तिबाट उपेन्द्र यादवलाई सिनियर अध्यक्ष मानेर बाबुरामले दोश्रो अध्यक्ष पनि बने । तर, त्यहाँ पनि उनी टिकेनन् । उपेन्द्रसँगको सहकार्य मधेसी दलको मानसिकताका कारण पनि लामो समय चल्न नसकेको बताइन्छ । त्यसपछि बाबुरामले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व गरिरहेका छन् । तर, यो पार्टी बौरिएला धेरै प्रश्न र शंकाहरु देखिन्छन् ।

मधेशी शक्तिसँग एकताको चर्चा 

बाबुराम भट्टराई नेतृत्वको नेसपा अहिले फेरि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीचको एकतामा सामेल हुने चर्चा चलिरहेको छ ।

सीके र रेशमले पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पु¥याएका छन् । यो तयारीले सार्थकता पाउने विश्वास समेत गरिएको छ । यस्तोमा रेशमले भनिरहेका छन्, बाबुराम भट्टराई पनि एकतामा आउँछु भन्नुभएको छ । 

उसोतः बाबुरामले छोरी तथा नेसपा नेतृ मानुषी भट्टराई यमीलाई नागरिक उन्मुक्तिको केन्द्रिय समिति बैठकमा विशेष सम्बोधनको अवसर नै दिएका छन् । 

सामान्यतया पार्टी केन्द्रिय समितिमा बाह्य व्यक्ति वा नेतालाई यसरी स्पेश दिने गरेको देखिन्न । तर, रेशमले एकताको सन्देश दिन यस्तो प्रयोग गरेको देखिन्छ । 

जुन विषयले बाबुराम पनि एकताका लागि सकारात्मक बनेको चर्चा चलिरहेको छ । यस्तो स्थितिले बाबुरामले फेरि क्षेत्रिय मधेसी दलहरुसँगको सहकार्यलाई फेरि जोड दिन खोजेको देखिन्छ । 

वैकल्पिक शक्तिको हाँक

बाबुराम भट्टराईले संविधान निर्माणपछि नै वैकल्पिक शक्तिको रटान लगाइरहेका छन् । बाबुरामले आफुलाई स्थापित गर्न नसकेपनि राष्ट्रिय स्वतन्त्र पार्टीदेखि अन्य दलहरु यहि नारामा उदाएको कुरा लुकेको छैन् । 

राजनीतिक दल र शक्तिबाट जनता आजित बन्न खोजेको बेला बाबुरामले समातेको वैकल्पिक शक्तिको लठ्ठी अर्कैले टेकेपनि उनी यो विषयबाट अझैपनि टाढा निस्किन सकेका छैनन् । तर, माओवादी केन्द्रसँग एकताको प्रयास समेत गरेर वैकल्पिक शक्तिको विषयलाई थाति राख्न खोजेका बाबुरामलाई प्रचण्डले धोका, अपमान गरेपछि विच्किन पुगेका थिए ।

त्यसपछि उनीसँग भएका नेताहरुले साथ छाड्दै गएपनि बाबुराम अहिले पनि वैकल्पिक शक्तिको रटान भने लगाइरहेका छन् । वैकल्पिक राजनीतिको नारालाई उछाल्दा आफूलाई घाटा नै लगाएका बाबुरामले देखाएको बाटोले धेरै नेता मन्त्री बनिसकेका छन्, तर, के बाबुरामको पालो अर्को चुनावसम्म आउला ? यो रोचक विषय बनेको छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update