News 24 Television
राजाबारे गगन–रविको समान रणनीति, दुवै ‘सफ्ट कर्नर’को नीतिमा !

काठमाडौं । राजतन्त्रको पुनस्र्थापना गर्न भन्दै राजावादीको सक्रियता बढेपछि गणतान्त्रिक मोर्चाको चर्चा चल्दै आएको छ । यसका लागि माओवादी केन्द्र अग्रसर छ भने संसदका सबैभन्दा ठूला दलहरु काँग्रेस र एमाले केही नरम छन् । 

माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राययादव नेतृत्वको नेसपाले समाजवादी मोर्चामार्फत चैत १५ गते नै काठमाडौंमा राजावादीको काउन्टरमा प्रदर्शन गर्दैछन् । तर सत्तारुढ दलहरु काँग्रेस–एमाले राजावादीको काउण्टरमा मोर्चाबन्दी गर्ने मुडमा पुगिसकेका छैनन् । एमालेले एक्लै विरोधको कार्यक्रम गर्ने तयारी गरेको छ भने काँग्रेसमा यसबारे निर्णयको तयारी मात्रै भइरहको छ । 

गगन–रविका उस्तै रणनीति

राजावादी गतिविधि बढ्दा व्यवस्थामाथि प्रश्न मात्रै होइन, दलहरुको धारणा पनि जाँच भइरहेका छन् । यस्तो अवस्थामा माओवादीले राजतन्त्र र राजवादी गतिविधिको डटेरै प्रतिवाद गर्ने निश्कर्ष निकालेको छ । सत्तामै रहेको एमालेले पनि यस्को प्रतिवाद गर्ने रणनीति लिँदा काँग्रेसका नेताहरुबीच भने राजसंस्थाबारे मत भिन्नता प्रष्ट छ । 

यहीबीच राजावादीको गतिविध बढ्दा काँग्रेसको स्ट्याण्ड के ? भन्ने प्रश्न उठिरहेको छ । यस्तोमा काँग्रेस महामन्त्री गगन थापा राजावादी गतिविधिलाई निमिट्यान्न पार्न नहुने पक्षमा उभिएका छन् । जबकी काँग्रेस नेतृत्व राजावादीको काउन्टरको रहेको बतान्छ । तर गगन भने राजावादीको पक्षमा सडक आएकाहरुलाई एकोहोरो तवरले हेर्न नहुने भन्दै उक्त आवाजलाई पनि सम्बोधन गर्नुपर्ने विचारमा छन् । र, गगनले राजतन्त्र र राजावादी गतिविधिबारे पनि केही बोलेका छैनन् । उता नयाँ दलको नेतृत्वमा रहेको रास्वपा सभापति रवि लामिछाने पनि राजावादी गतिविधिप्रति ‘सफ्ट कर्नर’मै छन् । रविले प्रदर्शनका लागि सडक ओर्लिएकाहरु पनि नेपाली जनता नै भएको टिप्पणी गर्नु र राजतन्त्रबारे धारणा के ? भन्ने बारम्बारको प्रश्नलाई सँधै टारिरहने गर्नुलाई पनि रवि राजावादी गतिविधिमा सफ्ट रहेको दावी गरिन्छ । 

रवि र गगनबीच विविध ढंग र कोणबाट एकअर्कामा प्रतिस्पर्धा चल्दै आएका छन् । तर बढ्दो राजावादी गतिविधि र राजतन्त्रको बहसले रवि र गगनबीच समान चाल देखिएको हो ।  

रवि र गगनमाथि आरोप 

पछिल्लो समय राजनीतिमा फरक फरक आयामहरु देखिने गरेका छन् । जसमा आम नागरिक पार्टीको नीति तथा सिद्धान्तमाभन्दा पनि के हुनुपर्दथ्यो तर के भयो ? हुनुपर्ने अर्को तर भयो यस्तो भन्ने निश्कर्षतर्फ लागेका छन् । 

यो आधारले पनि नयाँ पुस्ताका नेतालाई राजनीतिक गर्न अफ्ठ्यारो परेको छ । यही कारणले पनि रवि र गगनजस्ता युवा पुस्ताले वर्तमान राजनीतिक अफ्ठ्यारोमा खास धारणा निर्माण गर्न सकेका छैनन् । यो बिचमा गगन र रविमाथि जता हुल त्यतै बग्ने नेताका रुपमा आक्षेप पनि लाग्ने गरेका छन् । 

हुनतः लोकतन्त्र विश्वकै उन्नत र उद्धार शासन प्रणाली हो । तर नेपालमा यो प्रणालीलाई शासन संचालन गर्ने नेतृत्वले नै गलत रुपमा प्रयोग गरे । यसैको प्रतिफलस्वरुप वर्तमान व्यवस्थाको विकल्प खोजिन थाथिएको छ ।

यही अवस्थामा गणतन्त्रवादी दलहरु एकजुट हुने प्रयासमा देखिएका छन् । यद्यपि नयाँ पुस्ताले भावि राजनीतिक आधार खोज्दा दलहरु एकाकार हुन सकेका छैनन् । जसले गगन र रविको राजनीतिक ‘स्ट्याण्ड’लाई पनि उस्तै देखाएको हो । 

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update