News 24 Television
शान्तिको कामना गर्दै गोरखनाथ मन्दिरमा ज्ञानेन्द्र  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक सक्रियता बढाएसँगै गणतन्त्रवादी शक्तिहरु प्रतिरोधमा उत्रिने बताइरहेका छन् । संविधान विपरित पूर्वराजा शाहले कदम चालेको भन्दै लोकतान्त्रिक शक्तिहरुले सदनदेखि सडकसम्म नै विरोध गरिरहेका छन् । 

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले चैत ११ गतेदेखि देशब्यापी अभियान शुरु गर्ने घोषणा गरिसकेको छ भने विपक्षी दलको चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । तर पनि पूर्वराजा शाह भने देश दौडाहा गर्न छाडेका छैनन् । गणतन्त्र स्थापनापछि पहिलो पटक उनी पर्खेउली थलोमा पुगेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले गण्डकी प्रदेश अन्तर्गत विभिन्न ठाउँका शक्तिपीठहरुको दर्शन गरी झण्डै एक महिना पोखरामा बिताएका थिए । एक महिनापछि पोखराबाट काठमाडौं फर्किँदा फाल्गुन २५ गते शाहलाई काठमाडौंमा राजावादीहरुले भब्य स्वागत गरे । मानौं पूर्वराजा शाह निर्वासनबाट देश फर्किएका हुन्, अथवा पुनः गद्दिसिन हुँदैछन् जस्तो गरी । तर उनी न त निर्वासनमा नै थिए, न त पुनः गद्धिसिन हुन लागेका हुन् । 

आफू सक्रिय हुने संकेत सहित प्रजातन्त्र दिवसका दिन दिएको राजनीतिक अभिब्यक्तिका कारण हौसिएका राजावादीहरुले शक्ति प्रदर्शनसहित शाहको स्वागत गरेका थिए । चार्टर्ड विमानबाट पोखराबाट काठमाडौं ओर्लिएका उनलाई त्रिभुवन विमानस्थलबाट चक्रपथको बाटो हुँदै महाराजगञ्ज निर्मल निवाससम्म नै राजावादीहरुले जयजयकार गर्दै स्वागत गरेका थिए । शाहको स्वागतमा त्यो दिन भएको प्रदर्शनका कारण गणतन्त्रवादी शक्तिहरुको भने निदहराम गरिदिएको छ । 

त्यसैले गणतन्त्रवादी शक्तिहरुले त्यसको विरोधमा सदनमा आवाजहरु उठाइरहेका मात्र छैनन्, त्यसको काउन्टरमा त्यो भन्दा ठूलो जुलुस निकाल्ने तयारी नै गरिसकेका छन् । नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका चार दलीय समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ भने सरकारको नेतृत्व गरेको एमालेले चैत ११ गतेदेखि नै देशब्यापी प्रदर्शनको घोषणा गरेको छ । 

गणतन्त्रवादी शक्तिहरुले पूर्वराजा शाहलाई संविधान सम्मत ढंगले राजनीतिमा आउन चेतावनी पनि दिइरहेका छन् । लोकतन्त्रमा सबैको ठाउँ हुने भन्दै उनीहरुले शाहलाई दलीय राजनीतिमा आउन आह्वान गरेका छन् । तर शाह भने वर्तमान अवस्थामा नागरिकमा देखिएको असन्तुष्टिलाई क्यास गर्दै पुनः गद्दिसिन हुने सपना देखिरहेका छन् । 

त्यसैले उनी धार्मिक भ्रमणको नाममा देश दौडामा जारी राखेका छन् । पोखराबाट फर्किँदा देखिएको जनप्रदर्शन देखेर हौसिएका शाह शनिवार पुनः गोरखा भ्रमणमा निस्किएका छन् । गोरखा दरबारस्थित गोरखनाथ मन्दिरको दर्शन गर्न पुगेका उनले देशमा आफूले शान्तिको कामना गरिरहेको बताएका छन् । 

शनिबार बिहान गोरखा पुगेर गोरखा दरबारस्थित गोरखनाथ मन्दिरको पूजाअर्चना गरेका थिए । संस्कृतिविद् डा. जगमान गुरुङलाई अघि लगाउँदै गोरखनाथ मन्दिर प्रवेश गरेका शाहलाई मन्दिरका पूजारीहरुले स्वागत गरेका थिए । उनको मन्दिर प्रवेशसँगै स्वस्ती वाचन पनि गरिएको थियो । 

शाहले झण्डै २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरको पूजाअर्चना गरेका थिए । शाहबंशीय राजाहरुको राजपाठ सञ्चालनमा गोरखनाथको विशेष सम्बन्ध रहेको रहेको छ । त्यसैले शाह परिवार भारत भ्रमणमा रहँदा पनि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा जाने गरेका छन् । 

पूर्वराजा शाहको सक्रियतासँगै राजवादीहरुले पनि नवराज सुवेदी नेतृत्वको तेस्रो जनआन्दोलन समिति नै बनाएका छन् भने चैत १५ गतेदेखि नै काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन् । राजा फर्काउने निर्णायक आन्दोलन गर्ने भनिए पनि राजावादी दलहरु भने सुवेदीको कमाण्डमा एक ठाउँमा उभिन तयार देखिएका छैनन् । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update