News 24 Television
पानी नै नपाई मर्नुपर्ने जोखिम ! जीवन अस्तित्व नै भयंकर खतरामा !

काठमाडौं । पछिल्ला वर्षहरुमा विश्वमा नै पानीका स्रोतहरु सुकिरहेका छन् । यति गतिमा पानीका मुहान सुक्दैजाने हो भने पानीकै अभावले विश्वमा त्राहिमाम फैलिने खतरा रहेको विभिन्न अध्ययनहरुले देखाउदै आएका छन् । 

मानिसले प्रकृतिमाथि गर्ने जथाभावि क्रियाकलाप, बढ्दो अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तनका असरलगायतका कारण पानी खानै नपाई मावन जीवन मृत्युवरणतर्फ बाध्य हुनेसम्मको आकलन गरिएका छन् । यस्ता आकलनका बीच आकडा हेर्दा नेपालमा र विश्वमा अहिले पानीका स्रोत र पानीको प्रयोग अनि पहुँचको अवस्था कस्तो छ त ? 

नेपालमा मात्रै होइन विश्वमा नै पानीका स्रोतहरु तीव्र गतिमा सुक्न थालेपछि जीवजगतमै ठुलो संकटको खतरा देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनसँगै संयुक्त राष्ट्र संघले समेत हरेक वर्ष गर्दै आएका अध्ययनले पनि विश्वमा पानीको हाहाकारले त्राहिमाम मच्चिने आकलन गरेको छ । नेपालमा पनि पछिल्ला तीन वर्ष यता तराई मधेश क्षेत्रमा देखिएको सुख्खापन र पोखरी नै सुक्ने क्रम बढ्नुले पनि पानीका स्रोत संकटमा रहेको प्रष्टै बुझाउछ । 

पानी व्यवस्थापनमा के छन् सरकारका योजना 

-    पानीका स्रोतमाथिको संकट यसरी बढ्दै गएको अवस्थामा सरकारले अब थप प्रभावकारी कदम चाल्ने प्रतिवद्धता खानेपानीमन्त्री प्रदीप यादवले जनाइरहेका छन् । 

नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन प्रयासमा आफु रहेको उनको भनाई  छ । विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने उनको भनाई छ । उनले नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतिपूर्ण रहेको समेत बताए । 

खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृ निकायहरुसँग सहकार्य गर्ने समेत उनले बताए । सुरक्षित खानेपानी तथा सरसफाईलाई सुनिश्ति तथा दीगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैससरकारी संस्थाहरुसँग सहकार्यको तयारी भइ रहेको उनको भनाई छ । 

सरकारले जलस्रोत संरक्षण र पानी व्यवस्थापनका योजना बनारहँदा पानी अभावका चुनौति कम भने छैनन् । यद्दपी, पानीको सही सदुपयोगबाट नेपालले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्ने सम्भावना पनि छन् । 

नेपालमा पानीको वर्तमान अवस्था र भविष्य कस्तो ?

-    विश्वमा पानीको स्रोतमा नेपाल विश्वको दोस्रो धनी तर नेपालमा उपलब्ध हुने कुल पानीमध्ये करिब १० प्रतिशत पानीको मात्रै सदुपयोग 

-  हाल नेपालका नदीनालाका स्रोतबाट वार्षिक रूपमा २२५ अर्ब घनमिटर पानी बग्ने गरेको 

-   जसमा हालसम्म करिब १० प्रतिशत मात्र पानीको प्रयोग गर्न सकिएको 

-    प्रयोग भएको १० प्रतिशत पानीमध्ये ८० प्रतिशत सिंचाईका लागि र बाँकी विजुली उत्पादन, खानेपानी तथा सरसफाइमा प्रयोग 

-  ८० प्रतिशत पानी वर्षाको चार महिनामा बग्ने, बाँकी आठ महिनामा स्रोतहरू सुक्नाले नदीनालामा पानी कम हुने र सुख्खा समयमा नेपालमा बाँकी २० प्रतिशत पानी बग्छ  

-    वर्षामा आउने पानीको भेललाई भण्डारण गर्न नसक्दा सुख्खायाममा सिँचाइ तथा अन्य प्रयोजनमा पानीको अभाव हुने गरेको 

-    पानीको समान वितरण हुन नसक्दा कतै अभाव र कतै खेर गइरहेको अवस्था 

-    नेपालमा पानीको प्रयोग गरेर आर्थिक उन्नति गर्न सक्ने सिँचाइ र विद्युत उत्पादन क्षेत्र हुन्, तर अधिकांश कृषि प्रणाली आकाशे पानीको भर पर्नुपर्ने अवस्था

-    ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत रूपमा खानेपानीको सुविधा पुगेको, त्योमध्ये २० प्रतिशत जनसङ्ख्यालाई मात्र व्यवस्थित पाइप प्रणालीबाट पानीको वितरण गर्न सकिएको 

-    आधारभूत रूपमा स्वास्थ्य तथा सरसफाइका लागि नेपालमा ६१ प्रतिशत मानिसले यथेष्ट पानीको उपलब्धता तर, पिउने पानी स्वच्छ नभएका कारण पानीजन्य रोगव्याधीको प्रकोप नेपालमा फैलिने गरेको 

विश्वमा पानी अभावको अवस्था कस्तो ?

-    विश्वमा कम्तिमा ८० करोडभन्दा बढी मानिस सुरक्षित पिउने पानीको पहुँच बाहिर 

-    अहिलेकै खराब स्थिति कायम रहेमा सन् २०५० सम्ममा विश्वको त्यसबेला हुने ९ अर्ब जनसंख्या मध्ये ४० 
प्रतिशत अर्थात ३ अर्ब ६० करोड मानिसहरू पिउने पानीको अभावले तड्पिनुपर्ने अवस्थाको आकलन 

-   संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा यतिबेला झण्डै ७८ करोड मानिसहरू पानीको अभाव बीचबाट गुज्रिरहेका 

-    त्यसमा पनि थप करिब २ दशमलव ५० करोड मानिसलाई सरसफाइका लागि समेत पर्याप्त पानीको पहुँच बाहिर 

पानीका स्रोत दोहनले थप खतरा 

-    विश्वका २० प्रतिशत पानीका स्रोतहरू अत्यधिक दोहनका कारण समाप्त 

-    २०५० सम्ममा विश्वस्तरमा पानीको माग ५५ प्रतिशतले बढ्न जाने 

-    यस्तो स्थितिमा विश्वका ४० प्रतिशतभन्दा बढी आवादीलाई पानीको गम्भीर संकट भएको क्षेत्रमा रहन बाध्य हुनुपर्नेछ 

-   उच्च संकटमा पर्ने क्षेत्रहरूमा उत्तरी अफ्रिका, पश्चिम एसिया र पश्चिम दक्षिण एसिया प्रमुख हुने आकलन 

-    घनाआवादी भएको एसियाली क्षेत्र पानीलाई लिएर सबैभन्दा ठूलो संकट र टकरावको क्षेत्र बन्न सक्ने खतरा 

-    यस्ता क्षेत्रहरूमा गंगा, ब्रह्मपुत्र, सिन्धु र मेकंग नदी वरिपरिका क्षेत्रहरू संकटका प्रमुख क्षेत्र रहने 

-    माथि उल्लेखित नदीहरूको पानीलाई लिएर त्यस क्षेत्रका देशहरूका बीचमा गहिरो मतभेद र सीमा विवादहरू पनि उत्पन्न हुन सक्ने गम्भीर विषय अन्तर्राष्ट्रिय  अध्ययन प्रतिवेदनले दर्शाएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update