News 24 Television
ओली क्याविनेटका मन्त्री, जसले होस गुमाउँदा प्रश्नले थिचिदैछन्

काठमाडौं । मन्त्री कस्ता व्यक्ति हुन्छन् ? मन्त्रीको विभागीय दायित्व के हुन्छ ? मन्त्रीले गर्न सक्ने कुरा के हो ? तमाम प्रश्नको जवाफ हो, सम्बन्धित मन्त्रालयले कार्यसम्पादनमा उल्लेख्य काम गर्ने र सेवा प्रवाह गर्ने । तर, हाम्रा मन्तीहरुको यस्तो कर्म भने देखिन्न । उनीहरुले खुलेआम जनतालाई धम्की दिन्छन् । पार्टीका लागि जस्तोसुकैलाई नियुक्ति दिलाएको बताउने गर्छन् । यहि कुराले मन्त्रीमाथिको विश्वसनीयता हटाउदै गएको छ । 

प्रधानमन्त्री केपी ओलीको क्याबिनेटमा रहेका केहि मन्त्रीमाथिका प्रश्नहरु यति पेचिला छन् की, कुनैपनि प्रधानमन्त्रिय प्रणालीमा यस्ता व्यक्ति लामो समय टिक्नै सक्दैनन् । तर, ओली नेतृत्वको सरकारमा यस्तो हुन्न । यस्ता मन्त्रीहरु एकजना छैनन्, धेरै छन् । तर, प्रधानमन्त्री ओलीले न कारबाही गर्छन् । न सम्बन्धित पार्टीलाई फिर्ता लैजाउ भन्न सक्छन् । यस्तै कारण मन्त्रीहरु बदनाम बनेका छन् । मन्त्रीको कुर्सीबाट जनतालाई धम्की, चेतावनी, गैरजिम्मेवारीपनादेखि निरिहता प्रष्टै छचल्किन्छ । यस्ता मन्त्रीहरु को–को हुन् त ? 

१. परराष्ट्रमन्त्री आरजु राणा देउवा

परराष्ट्रमन्त्री आरजु राणा देउवा शक्तिशाली व्यक्तिकी पत्नी हुन्  । कांग्रेस सभापति र अब प्रधानमन्त्रीको पालो कुरिरहेका शेरबहादुर देउवाकै पत्नी भएका कारण आरजुले दिएका गम्भीर अभिव्यक्ति खास चर्चाको विषय बन्दैन् । नेपालको सरकार फेर्ने आशय भारतले नदेखाएको खुलेआम अभिव्यक्ति दिनु कति कूटनीतिक ? यसबारे बहस सार्वजनिक रुपमा चर्किएको छ। 

२. ऊर्जामन्त्री दीपक खड्का

ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्य भारतले गरिदिएको भन्दै कर्मचारीमाथि मात्रै आक्रोश पोखिरहेका छैनन्, प्राधिकरण नेतृत्वमाथि दोषारोपण गर्न लोडसेडिङको चेतावनी नै दिएका छन् । 

३. उद्योगमन्त्री दामोदर भण्डारी

सिमेन्टको मूल्य वृद्धिबारे चलिरहेको छलफमा मूल्य समायोजनको पक्षमा बहस चल्यो । त्यसमा मन्त्री भण्डारीले उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ भन्दै उल्टै प्रश्न गरे । मूल्य निर्धारण पनि व्यापारीले नै गर्ने भनिदिए ।

यीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरिरहेका अन्धाधुन्ध घोषणा, स्वास्थ्य बीमाको समस्यादेखि पर्यटमन्त्री बद्रि पाण्डेमाथि रक्सी, चुटोटको लाइसेन्स बिक्रीका लागि तयारी गरेको लगाएतका आरोपहरु लागिरहेका छन् । यता, गृहमन्त्री रमेश लेखकमाथि पनि जातिय विभेदका घटनालाई प्रशय दिएको, सुरक्षाकर्मीको परिचालनदेखि सुरक्षा व्यवस्थामाथिका प्रश्नमा चुकेको लगायतका प्रश्नहरु पेचिला बनेका छन् । तर, ओली सरकारले यो विषयलाई देखेको नदेखे झै गरिरहेको छ । 

विपक्षी पनि चर्को

केपी ओली नेतृत्वमा रहेका केहि मन्त्रीहरुमाथि गम्भीर आरोप लागिरहेका छन् । तर, ती मन्त्रीहरुले न राजीनामा दिने छाँट देखाएका छन, न अनुसन्धान गर भनेर अनुसन्धानको समयसम्म जिम्मेवारीमा रहन्न भनिरहेका छन् । यस्तो स्थितिमा प्रतिपक्षी दलहरुले पनि आक्रामक रुपमा टिप्पणी गर्न थालेको देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री दीपक खड्कामाथि गम्भीर आरोप लगाएका छन् । प्रचण्डले मन्त्री खड्कालाई भ्रष्टाचारमा लिप्त रहेको आरोप नै लगाए । 

मन्त्रीहरुमाथिका प्रश्न सार्वजनिक रुपमा नै उठ्न थालेपनि सरकारले उचित कदम चाल्न नसक्दा प्रश्नहरु पेचिला बनिरहेका छन् । अधिकांश मन्त्रीहरु कार्यसम्पादनमा फेल भएको स्थिति छ भने कयौं पटक एउटै मन्त्रालय रोज्ने शरतसिंह भण्डारीजस्ता मन्त्रीमाथि समेत प्रश्न उठ्ने गरेको छ । तर, मिलिजुली सरकारमा देखिएको यस्तो नियुक्तिले स्थिति भने भयावह बनाएको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update