News 24 Television
कांग्रेसमा धर्मनिरपेक्षताविरुद्धको माग चर्किदै, देउवाले बुझेको प्रतिवेदन के भन्छ ?

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा माहोल बन्दै गएको छ । कांग्रेको एक पक्षले हिन्दु राष्ट्रको पक्षमा चलाइरहेको अभियानमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिन्छन् । पछिल्लो समय कांग्रेसभित्र चलेको हिन्दु राष्ट्रको माहोलले संविधान संशोधनका कस्तो प्रभाव पार्ला ? 

नेपालको संविधान २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र भनेको छ । कुनै पनि देशको निश्वित धर्म नहुने मान्यताको आधारमा धर्मनिरपेक्षाताको व्यवस्था गरिएको विषय छिपेको छैन् । तर, हिन्दु बाहुल्य जनसंख्या भएको राष्ट्र नेपालमा पछिल्लो समय हिन्दु राष्ट्र कायम गर्नुपर्ने मत पनि उठ्न थालेको छ ।

यो माग मुख्यतः नेपाली कांग्रेसभित्र पेचिलो बन्न थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपुरमा २०८० मंसिर ११ गते धर्मनिरपेक्षताबारे विचार गर्न सकिने धारणा राखेका थिए । उसोतः कांग्रेस सांसद शंकर भण्डारीले हिन्दु राष्ट्रको पक्षमा अभियान नै चलाइरहेका छन भने हिन्दु राष्ट्रको पक्षमा कांग्रेस नउभिए संकट पर्ने भन्ने गरेका पनि देखिन्छन् । 

कांग्रेस नेता भण्डारीले चलाएको हस्ताक्षर अभियानमा डा. शेखर कोइरालादेखि पुष्पा भुसाल लगायतका नेताहरुले हस्ताक्षर गर्दै ऐक्यबद्धता व्यक्त गरेका थिए । हिन्दु राष्ट्र घोषणाको मागसहित संकलित हस्ताक्षर कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो । उसोतः कांग्रेसमा हिन्दु राष्ट्रको वहस पेचिलो बन्न देखिएको छ ।

कांग्रेसले संविधान संशोधनका लागि भन्दै सातै प्रदेशमा गरिएको भनिएको अध्ययनमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठेको दाबी गरिएको छ । जसमा कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी नेतृ डिला संग्रौला प्रमुख रहेको पेशागत तथा बुद्धिजीवि विभाग र डिएलएले सातै प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ बारे छलफल गरेर हिन्दु राष्ट्रको पक्षमा सुझाव संकलन गरेको बताइएको छ । 

उक्त सुझावमा ७० वर्ष उमेर पुगेकाहरुलाई जनप्रतिनिधि नबनाउनेदेखि समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रियसभामा लैजानुपर्ने, महिलाको प्रतिनिधित्व बढाउनुपर्नेदेखि प्रधानमन्त्री दुई कार्यकालभन्दा बढि बन्न नहुने लगायतका विषय समेटेको भनिन्छ । तर, कांग्रेसले धर्मनिरपेक्षाताको विषयमा राखेको बहसले भने नयाँ बहस सतहमा ल्याइदिएको छ । 

कांग्रेसको तर्क

कांग्रेसले गणतन्त्रलाई अपरिवर्तनीय भनिरहेको छ । गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने धारणामा कांग्रेसको प्रतिबद्धता भने देखिन्छ । 

तर, धर्मनिरपेक्षतामाथिको सवालमा भने हिन्दु राष्ट्र कायम गराउनुपर्ने माग देखिन्छ । यस्तो मागमा कांग्रेसको एक पक्षले धर्मको विषय समेटे राजतन्त्रको बहस सकिने तर्क समेत गरिरहेको छ । अहिले राजावादीहरुको सक्रियता बढेक बेला कांग्रेसले यहि मौका छोपेर धर्मनिरपेक्षताको विषयमा प्रवेश गर्न चाहेको देखिन्छ । 

देउवा पक्षधर नेताहरुले नै प्रतिवेदन तयार पार्दै हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि शंका उब्जाएको छ । पहिले नै देउवाले धर्मनिरपेक्षताबारे सोच्न सकिने भनिसकेको बेला कांग्रेसले राजसंस्थालाई देखाएर गर्न खोजेको राजनीति अब कहिलेसम्म जान्छ त्यो भने हेर्न बाँकी छ ।

कांग्रेसको मत

नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षता हटाएर हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागमा अधिकांश शीर्ष नेताहरु रहेको बताइन्छ । संघीयताको विपक्षमा हुनेभन्दा पनि धर्मनिरपेक्षताको विपक्षमा हुनेहरुको संख्या ठूलो रहेको बताइन्छ । 

यस्तोमा कांग्रेसले धर्मनिरपेक्षताको विषयलाई राजसंस्थासँग जोडेर राजतन्त्रको माग पेचिलो बनिरहेको बेला कदम चाल्नसक्ने कतिपयले शंका गरेका छन् । तर, माओवादी केन्द्रदेखि अन्य दलहरु धर्मनिरपेक्षतालाई हटाउने पक्षमा उभिने आधार तयार नहुँदा तत्कालै यो विषयको बहसबाहेकको उपलब्धि भने कठिन देखिन्छ । तर, कांग्रेमा एकाधबाहेकका नेताहरु हिन्दु राष्ट्र्को पक्षमा उभिन हिन्दुवादी जनसंख्या र राजसंस्थालाई कारण बनाउने मुडमा रहेको दाबी गरिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update