News 24 Television
बहिरा विद्यार्थीलाई एसईईमा दोभाषे शिक्षकको अभाव

रौतहट । कक्षा १२ लाई माध्यामिक शिक्षा तहको अन्तिम खुड्किलो भए पनि एसईईलाई अझै पनि विद्यार्थी जीवनको सबैभन्दा महत्वपूर्ण परीक्षा मान्ने गरिएको छ । एईईको नतिजाकै आधारमा मात्रै ११ कक्षामा आफूले चाहेको पढ्न पाइने भएकाले पनि विद्यार्थी र अभिभावकहरुले गम्भीर रुपमा लिने गरेका छन् । त्यसैले राम्रो नम्बर ल्याएर एसइई उत्तीर्ण गर्ने हरेक विद्यार्थीको सपना हुन्छ । यस्तै सपना बोकेर रौतहटका बहिरा विद्यार्थीहरू एइइ परीक्षा दिइरहेका छन् । 

रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको जनज्योति नमुना माध्यमिक विद्यालय केन्द्रमा अहिले १२ जना बहिरा विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् । परीक्षा केन्द्रमा उनीहरूलाई दोभाषे स्रोत शिक्षकले प्रश्नहरू बुझाउने काम सांकेतिक भाषाबाट गर्ने गरेका छन् ।

बोल्न अनि सुन्न नसक्ने भएकाले उनीहरूलाई साधारण विद्यार्थी जस्तो सबै विषयवस्तुको जानकारी राम्रोसँग हुँदैन । यसले गर्दा परीक्षामा कतिपय विषयवस्तुमा उनीहरूलाई समस्या हुने गरेको छ ।

कक्षा ८ सम्म छुट्टै कक्षा कोठामा अध्ययन गर्ने व्यवस्था गरिए पनि ९ देखि भने साधारण विद्यार्थीसँगै राखेर उनीहरुलाई अध्यापन गराइन्छ । अन्य विद्यार्थीहरूसँग घुलमिल गरेर सामाजिक रुपमा तयार होउन् भन्ने उद्देश्यले उनीहरूलाई सँगै राखेर पढाउने नीति लिएको हो। तर सांकेतिक भाषा मात्रै बुझ्ने उनीहरूलाई शिक्षकहरूले सामान्य बोलेर पढाउँदा बुझ्न धेरै कठिनाइ हुने स्रोत शिक्षकहरू बताउँछन् । जनज्योति नमुना विद्यालयमा हाल कक्षा १ देखि १० सम्म ५४ जना बहिरा विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । उनीहरूलाई पढाउनका लागि दुई जना सांकेतिक भाषा जानेकासहित ६ जना शिक्षक छन् ।  

नेपाल सरकारले विशेष स्रोत कक्षामा अध्ययनरत बहिरा विद्यार्थीहरूको लागि प्रति विद्यार्थी वार्षिक ४० हजार छात्रवृत्तिको व्यवस्था गरेको छ । तर पनि सांकेतिक भाषा जान्ने शिक्षकको दरबन्दी अभाव छ । सरकारले दिएको छात्रवृत्ति बापतको रकम पनि समयमा निकासा नहुँदा विद्यालयलाई बहिरा विद्यार्थीहरुलाई खुवाउने, पढाउने जस्ता समस्या हुने गरेको विद्यालयले जनाएको छ ।

जनज्योति नमुना माध्यमिक विद्यालयले वि.सं २०५८ सालदेखि बहिरा विद्यार्थीहरूको लागि विशेष स्रोत कक्षा सञ्चालन गर्दै आइरहेको छ । विसं २०६८ सालदेखि एसइइमा बहिरा विद्यार्थीहरूले सहभागिता जनाई रहेका छन् ।  हालसम्म ६० जना भन्दा बढी विद्यार्थीहरुले एसइइ उत्तीर्ण गरेका छन् । सक्षम नागरिक बन्ने अपेक्षा एसईई दिँदै गरेका विद्यार्थीहरुको पनि छ । 

देशका सबै नागरिकहरूको हक अधिकारको रक्षा गर्ने दायित्व राज्यको हो । अझ शारीरिक रुपमा फरक क्षमता भएका नागरिकलाई राज्यले विशेष ध्यान दिएर उनीहरूको सुखद भविष्यको लागि पहल गर्नुपर्छ । देशैभरका विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरूको लागि आवश्यकता अनुसार दोभाषे शिक्षकको व्यवस्था गर्न सके उनीहरूको सिकाई क्षमता अझ धेरै बढ्ने थियो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update