
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उजुरीको चाङ लागेपछि ७ वटा उपसमिति गठन गर्नु परेको छ । दूसञ्चारदेखि गैरकानूनी बीमासम्म मात्रै होइन अमेरिकी परियोजनामाथिका उजुरीसमेतको किनाराका लागि ७ वटा उपसमिति गठन गर्नु परेको हो ।
विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित उजुरीको चाङ लागेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ७ वटा उपसमिति गठन गरि छानविन शुरु गर्दैछ । उजुरीउपर छानविनका लागि समितिका सदस्य सञ्जयकुमार गौतम नेतृत्वको उपसमितिले विषय छुट्याएर ७ भागमा विभाजन गरि छानविन गर्न लागेको हो । उपसमितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ४८ वटा उजुरीउपर छानविन गर्न बताइएको छ ।
कुन विषयसम्बन्धि उजुरी हेर्न कसको नेतृत्व ?
- मनिष झा नेतृत्वको कार्यदलको जिम्मेवारी– टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धि उजुरीउपर छानविन गर्ने
- गोकुल बाँस्कोटा नेतृत्वको कार्यदलको जिम्मेवारी– अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसीसम्बन्धि उजुरीउपर छानविन गर्ने
- लेखनाथ दाहालको नेतृत्वको कार्यदलको जिम्मेवारी– संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालयसम्बन्धि उजुरीउपर छानविन गर्ने
- प्रेम आले नेतृत्वको कार्यदलको जिम्मेवारी– विद्युत प्राधिकरण तथा शहरी विकास मन्त्रालयसम्बन्धि उजुरीउपरे छानविन गर्ने
- सञ्जयकुमार गौतम नेतृत्वको कार्यदलको जिम्मेवारी– सहकारी, वैदेशिक रोजगार तथा धितोपत्रसम्बन्धि उजुरीउपर छानविन गर्ने
- देवप्रसाद तिमल्सिना नेतृत्वको कार्यदलको जिम्मेवारी– खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धि उजुरीउपर छानविन गर्ने
- तारा लामा नेतृत्वको कार्यदलको जिम्मेवारी– स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान व्यूरोसम्बन्धि उजुरीउपर छानविन गर्ने
बैठकका थप निर्णय के ?
- सार्वजनिक लेखा समितिको बैठकले समितिमा प्राप्त भएका थप १६ उजुरी र आगामी दिनमा प्राप्त हुने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिएको छ ।
- समितिले छानविन गर्न सिफारिस गरेका उजुरीलाई कार्यक्षेत्रका आधारमा अहिले बनेका कार्यदलमै छानविनका लागि पठाइनेछ ।
- बैठकले पोखरा विमानस्थल, भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार छानविन गर्न बनाइएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
लेखा समितिमा विभिन्न शीर्षकमा १ सय १४ बढी उजुरी परेका छन् । समितिमा रहेका उजुरीलाई विभिन्न २० शीर्षकमा वर्गीकरण गरेर ४८ वटा उजुरीलाई कार्यदलमार्फत अध्ययन र छानविन गर्ने भएको हो ।
समितिमा विषयगत रुप छुट्टाइएका उजुरी बाहेकका १६ वटा उजुरी माथि अध्ययन गरेर निर्णय सिफारिस गर्न नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा कार्यदल बनाएको छ ।
सार्वजनिक लेखा समितिमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियम विपरित कार्य गरेकोदेखि व्यवसायीहरुले सिमेन्ट र डण्डीमा मूल्य वृद्धि गरी कालोबजारी गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उजुरी दर्ता गराएका छन् ।
समितिमा एमसिसीको नेपाल कार्यालयले विद्युत प्रशारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार गरेको सम्मको उजुरी परेको छ ।