
काठमाडौं । सरकारले जनचाहना अनुसार काम गर्न सकेन, दुई तिहाईको बलशाली सरकारमाथिका प्रश्न पेचिला बने । यी अभिव्यक्ति पछिल्ला दिनहरुमा जताकतै देखिन्छन् । सत्तारुढ दलका नेताहरुले नै सुशासन कायम हुन नसकेको, सेवा प्रवाहमा चुस्तता नदेखिएको भन्ने आरोप लगाउदै हिडेका छन् । यसै परिवेशमा फेरि सरकार फेरिने हल्ला छ । के यो हल्ला वास्तविकतामा परिणत हुन लागेको हो त ?
कांग्रेस नेता शेखर कोइरालाले अहिलेको सरकारले सुशासनको पक्षमा फिटिक्कै काम गर्न नसकेको आरोप लगाइरहेका छन् । कोइरालाजस्तै एमाले प्रमुख सचेतक पनि युवाहरुमा निराशा देखिएको, रोजगारी सिर्जना गर्न नसकिएको स्वीकार गर्छन् ।
सरकारमाथिका प्रश्न र सवालमा प्रतिपक्षीले आरोप लगाउने विषय सामान्य हो । तर, सत्तारुढ दलका नेताहरुले नै सरकारका कामप्रति किन प्रश्न उठाइरहेका छन् । यसको कारण खोजी गर्नुको सट्टा संसदीय अंकगणितको हिसाबमा मात्रै अल्झिन खोज्दा समस्या देखिन थालेको छ । सरकारको कामप्रतिको प्रश्न र उत्तरदायित्वको सवालको यथार्थ भने फरक देखिन्छ ।
राजनीतिक रुपमा उठेका यस्ता प्रश्नको जवाफ भने कार्यकारी प्रधानमन्त्रीले नै दिनुपर्ने हुन्छ । तर, प्रधानमन्त्री केपी ओली पनि हाहा हुहु गरेकै भरमा उथलपुथलको अपेक्षा गर्न नहुने भन्दै धम्की दिइरहेका छन् ।
सरकारमाथिका प्रश्न र सेवा प्रवाहको आक्रोश अहिले सडकमा देखिन थालेको छ । राजतन्त्रको पक्षमा उत्रिएका जनता हुन् वा सरकारविरोधी कदममा उठ्ने आवाज नै किन नहुन्, नागरिक निराशा र आक्रोश चुलिएको देखिन्छ । यस्तोमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सरकारमाथिको आक्रोशलाई बढाएकै छ ।
राजनीतिक रुपमा ओलीले आफूलाई धोका दिएको ठानेका प्रचण्ड सरकारमाथि निर्मम पेश हुने गरेका छन् । सरकारमाथि अनेक आरोप समेत लगाइरहन्छन् । यस्तो स्थितिमा प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको यो अभिव्यक्तिले पनि सरकार लामो समय जान्छ होला त ? भन्ने प्रश्नमा शंका भने उब्जाइदिएको छ ।
ओलीले प्रतिपक्षी दलका नेतासँग भेट्ने प्रयास सफल नभएको र सम्पर्क गर्न खोज्दा आफु विरामी भएको भनि प्रतिपक्षीबाट जवाफ आएको बताइएको छ । तर, प्रचण्ड विरामी भएका नभई तराई मधेश जागरण अभियानको क्रममा मधेशमा छन् । यसले पनि ओली सरकारमाथिको संकट आउन लागेको चर्चा थप चुलिएको छ ।
सरकार र भूराजनीति
केपी ओली नेतृत्वको सरकारले भुराजनीतिक रुपमा कुटनीतिलाई बलियो र मजबुत पार्नै सकेन् । मन्त्रीलाई कयौं दिन भारतमा राखेर गर्न खोजिएको अभ्यास पनि सफल हुन सकेको देखिन्न । यस्तोमा सरकार परिवर्तनको खेल देशभित्रबाट मात्रै नभई विभिन्न शक्तिकेन्द्रहरु पनि सक्रिय बनेको चर्चा चलिरहेको छ ।
ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न कांग्रेस माओवादी केन्द्रका नेताबीचको संवाद चलिरहेको छ भने एमालेले गरिरहेको प्रयासले सार्थकता पाउन सकेको छैन् । प्रधानमन्त्री केपी ओलीकै कारण कांग्रेस थकित भएको बताइन्छ । ओलीलाई भारतले अस्वीकार गरेपछि कांग्रेसले लगाएको बलले काम गर्न सकेको छैन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले भारतमा उच्चस्तरिय भ्रमण, भेटवार्ता र ओलीको भारत भ्रमणको चाँजो मिलाउने प्रयासमै समय खर्चिदै गएकी छन् ।
अस्वभाविक रुपमा उनको भारत बसाई लम्बिदै गर्दा कांग्रेसले थप क्षति व्यहोर्नुपर्ने स्थिति नै सिर्जना भएको छ । तर, ओलीले यो विषयलाई गम्भीरतापुर्वक काम गर्न भनेपछि आरजुको बाध्यता समेत अर्कै बनेको बताइन्छ ।
वर्तमान सरकार ढल्न सक्ने !
केपी ओली नेतृत्वको सरकारको जग हल्लिएको चर्चा व्यापक बनेको छ । कांग्रेस–माओवादी केन्द्रबीच चलिरहेको आन्तरिक सम्वाद र ओलीले भेट्न चाँहदा प्रचण्ड तर्किनुले पनि सरकार लामो समय नजाने चर्चाहरु चल्न थालेका छन् ।
कांग्रेसमा पनि इतर पक्षले सरकारका काममाथि प्रश्न उठाइरहेका छन्, भने सरकारका दुई मन्त्री कांग्रेसका दीपक खड्का र एमालेका दामोदर भण्डारीले सरकारी पक्षबाट भन्दा पनि विचौलियाको पक्षमा खुलेआम बोल्न थालेकाले पार्टी थप क्षति व्यहोर्ने स्थिति बन्न पुगेको भन्दै आक्रोश पोखिरहेका छन् ।
यस्ता अनेक दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि अब विकल्प खोज्नुपर्ने हुनसक्छ भन्ने स्थितिमा पुगेको बताइन्छ । तर, देउवाले कहिलेसम्म ओली नेतृत्वको सरकारमाथि विश्वास राखिराख्छन् भन्ने विषय समेत रोचक रुपले हेरिएको छ ।