News 24 Television
रविलाई प्रश्न : तपाई राजावादी हो ? जवाफ ‘बोल्ने समय आएको छैन’ 

काठमाडौं । सहकारी ठगीको आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले बोल्ने समय नआएको भन्दै पन्छिन खोजिरहेका देखिन्छन् । राजनीतिक रुपमा उठेका प्रश्न र मुलुकको संविधानमाथि नै उठेका प्रश्नमा समेत उनले आलटाले जवाफ पेश गर्दै गर्न खोजेको राजनीतिमा अधिकांशले अब शंका गर्न थालेका छन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध आरोपमा देशका विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय मौनप्रायः देखिन्छन् । 

यी रवि जोशिला मात्रै देखिन्नन्, सत्ताविरुद्ध धावा बोल्ने काममा समेत लाग्छन् । माइक र क्यामेरा देख्यो कि, प्रतिपक्षीमाथि आक्रोश पोखिहाल्ने रवि लामिछाने लामो समयदेखि मौन देखिन्छन् । रवि किन अर्थपूर्ण मौनतामा छन् ? यो विषयको चासो चौतर्फी देखिन्छ । यो चासोका बीच उनले बोल्ने समय नआएकाले चुप लागेको भनिरहेका छन् । 

बोल्ने समय नआएको अभिव्यक्ति रविको पछिल्लो समयको राजनीतिक नीति जस्तो बन्न पुगेको छ । रविले काठमाडौंमा पनि यहि भनेका छन्, बोल्ने समय आएको छैन्, समय आएपछि बोल्छु ।

समय आएपछि बोल्छु भनेका रविले आफू बोल्दा दुई तिहाईको सरकार गम्भीर संकटमा फस्ने दाबी पनि गरेका छन् । रविले तपाई त राजावादी होरे नी भन्ने प्रश्नको जवाफ गोलमोटल बनाए तर, मूल प्रश्नको जवाफ दिएनन् । 

यसरी रविले राजनीतिक रुपमा आफूलाई कसरी विकास गर्न खोज्दैछन् ? देशमा राजतन्त्र भर्सेस गणतन्त्रको मुद्दा नै बन्दा संसदको चौथो शक्तिको अलमल कहिलेसम्म र किन ? यो समेत जनताले जान्न चाहेको प्रश्न हो । तर, रास्वपाले राजतन्त्रबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन भने रविको बोल्ने समय नआएको भन्न थालिएको छ। 

राजनीतिक धम्की र यथार्थ ?

गणतन्त्रको पक्ष विपक्षमा चलेका आवाजमा दलहरुले आन्तरिक सर्कुलर जारी गर्नेदेखि राजतन्त्रविरोधि गतिविधिलाई तिब्रता दिन थालेका छन् । माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत्र १५ गते विरोधको कार्यक्रम राखेको छ भने एमालेले पनि चैत्र ९ गते विरोध गर्ने भनेको छ । संसदको चौथो ठूलो दल रास्वपा भने यो विषयको प्रश्नमा भनिरहेको छ, तपाईलाई हेडलाइन समाचार बनाउने विषय दिन्न ।

रविले सञ्चारमाध्यमाथि आक्रोश पोख्ने गरेको विषय पहिलो भनेने होइन् । पत्रकार सम्मेलनको आयोजना गरेर सञ्चारमाध्यमाथि नै वमन गर्ने रवि पछिल्लो समय हेडलाइन बनाउने गरि कुनै शीर्षक दिन्न भन्ने नाममा राजनीतिक प्रणालीमाथिको जनमतको आंकलन गर्न खोजेका छन् ।

राजतन्त्र भर्सेस गणतन्त्रको मुद्दामा कता धेरै जनमत देखिन्छ भन्ने भेउ पाउनका लागि रविले यस्तो भन्न थालेको आरोप पनि लाग्ने गरेको छ । उसोतः रास्वपाका पुर्वमहामन्त्री मुकुल ढकालले रविले राजावादीसँग सहकार्य गर्ने आरोप लगाइसकेका छन् । यस्तोमा रास्वपाले आफ्नो धारणा कहिले बनाउला ? रविको बोल्ने दिन कहिले आउला ? चासो र प्रश्न सतहमा देखिन थालेका छन् । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update